विराटनगर । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक यिओल लाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ। सन् २०२४ मा मार्शल ल घोषणा गर्दै देशलाई संवैधानिक संकटतर्फ धकेलेको तथा विद्रोहको नेतृत्व गरेको ठहर गर्दै अदालतले यस्तो फैसला गरेको हो।
सियोल केन्द्रीय जिल्ला अदालतका न्यायाधीशहरूले बिहीबार सबैभन्दा गम्भीर आरोप विद्रोहको नाइके भएकोमा दोषी ठहर गरेको छ। अभियोजन पक्षले मृत्युदण्डको माग गरेको भए पनि अदालतले जन्मकैद सुनाउँदै कानुनी प्रक्रियाको उल्लंघन र लोकतान्त्रिक संस्थामाथि आक्रमण गर्ने प्रयास भएको निष्कर्ष निकालेको जनाएको छ।
मुख्य न्यायाधीश जी क्वी–यिओनका अनुसार युनले हिंसात्मक उपाय अपनाएर राष्ट्रियसभालाई निष्क्रिय पार्ने तथा लोकतान्त्रिक मान्यतालाई कमजोर बनाउने प्रयास गरेका थिए। उनीविरुद्ध मार्शल ल घोषणासँग सम्बन्धित विभिन्न आपराधिक आरोपमा गत अप्रिलदेखि मुद्दा चलिरहेको थियो।
सन् २०२४ डिसेम्बर ३ को राति युनले संसद्लाई “अपराधीहरूको अखडा” भएको आरोप लगाउँदै मार्शल ल घोषणा गरेका थिए। उक्त आदेशसँगै राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाइयो, सञ्चारमाध्यमलाई सैन्य नियन्त्रणमा राखियो र सैनिकहरू राष्ट्रियसभा तथा निर्वाचन आयोग परिसरमा परिचालन गरिएका थिए।
तर आदेश सार्वजनिक भएलगत्तै नागरिकहरू सडकमा उत्रिए। प्रदर्शनकारीहरू संसद् भवनतर्फ पुगेका सैनिकहरूको सामना गर्दै मुख्य हल कब्जा हुनबाट रोके। सांसदहरूले मध्यरातमै बैठक बस्दै राष्ट्रपतिको आदेश खारेज गरेपछि करिब छ घण्टामै युनले निर्णय फिर्ता लिनुपरेको थियो।