ज्ञानलाई व्यवहार र राष्ट्र निर्माणसँग जोड्नुपर्ने प्रधानमन्त्रीको भनाइ

0 Shares

पोखरा । पोखरा विश्वविद्यालय को २१औँ दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति सुशीला कार्की ले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन्। उनले समयको आवश्यकता अनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन र नैतिक मूल्यमान्यतायुक्त जनशक्ति उत्पादनतर्फ विश्वविद्यालयहरू उन्मुख हुनुपर्नेमा जोड दिइन्।

उनले नवीन प्रविधि विकास र अनुसन्धानमा आधारित प्राज्ञिक क्रियाकलापलाई प्राथमिकता दिनुपर्ने बताउँदै विश्वविद्यालयका कार्यक्रमहरू अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने धारणा राखिन्। आर्थिक समृद्धि र मानव कल्याणसँग सम्बन्धित हुन नसके ज्ञान र पाठ्यक्रम सान्दर्भिक नहुने उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले अध्ययन पूरा गरेपछि ठूलो सङ्ख्यामा युवा विदेशतर्फ आकर्षित हुनु साझा चिन्ताको विषय भएको उल्लेख गर्दै तीव्र रूपमा बदलिँदो विश्व परिवेशमा आफूलाई प्रतिस्पर्धी र सक्षम बनाउन विद्यार्थी र विश्वविद्यालय दुवै केन्द्रित हुन आवश्यक रहेको बताइन्।

परिवर्तनलाई अवसरका रूपमा ग्रहण गर्दै नवप्रवर्तन र उद्यमशीलताको बाटो समात्नु अहिलेको अपरिहार्य आवश्यकता भएको उनले उल्लेख गरिन्। स्थापना कालदेखि व्यवस्थापन, विज्ञानलगायत क्षेत्रमा उच्च शिक्षाको पहुँच विस्तारमा विश्वविद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्दै अब गुणस्तरीयतामा विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो।

दीक्षार्थीलाई सम्बोधन गर्दै उनले प्राप्त प्रमाणपत्रलाई केवल रोजगारीको आधारका रूपमा नभई समाज र राष्ट्रका जटिल समस्याहरू पहिचान गरी दीर्घकालीन समाधान खोज्ने क्षमताको प्रतीकका रूपमा बुझ्न आग्रह गरिन्।

आजका युवा नै भविष्यका राजनेता, प्रशासक, नीति निर्माता र समाज रूपान्तरणका अभियन्ता भएको उल्लेख गर्दै उनले जिम्मेवारीबोध, निष्ठा र इमान्दारितासहित अघि बढे अपेक्षित परिवर्तन सम्भव हुने बताइन्। उनले हालै जेनजी युवाले उठाएका आवाजहरू गम्भीर र आधारभूत सवालसँग जोडिएका भन्दै आत्ममूल्याङ्कनको आवश्यकता औँल्याइन्।

लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि निकट भविष्यमा हुने निर्वाचन महत्त्वपूर्ण अवसर भएकाले लोकतान्त्रिक प्रक्रियामा सक्रिय र जिम्मेवार सहभागिताका लागि उनले सबैलाई आह्वान गरिन्।

सम्बन्धित समाचारसबै