विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ चित्रे टोलमा शनिबार राति ३६ वर्षीय राजनकुमार अधिकारीमाथि धारिलो हतियार प्रहार भएको छ। प्रहरीका अनुसार राति करिब १०:३० बजे घरमै सुतिरहेका बेला अज्ञात व्यक्तिले उनीमाथि आक्रमण गरेका हुन्।
आक्रमणमा प्रयोग गरिएको हतियार यकिन भइनसकेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए। अधिकारीको मुख, टाउको, हात तथा बायाँ कानलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ र उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ।
घटनापछि उनलाई तत्काल उद्धार गरी विराटचोकस्थित सुकुना सामुदायिक अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल, विराटनगरमा भर्ना गरिएको छ।
प्रहरीका अनुसार अधिकारी दुई वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए र फागुन ५ गते मात्र नेपाल फर्किएका थिए। प्रारम्भिक अनुसन्धानमा घटना पारिवारिक मिलेमतोसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ।
अधिकारीकी पत्नी रन्जना कार्की (अधिकारी)लाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। सोधपुछका क्रममा उनले आफूले खुर्पाले प्रहार गरेको बयान दिएकी भए पनि घटनास्थलको अवस्थाले अन्य व्यक्तिको संलग्नता हुन सक्ने संकेत गरेको प्रहरीको भनाइ छ।
रन्जनालाई हाल इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ भने इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा टोली खटिएर सम्भावित संलग्न व्यक्तिहरूको खोजी तथा घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।