भारत ब्राजिलबीच महत्त्वपूर्ण खनिज सम्झौता

0 Shares

विराटनगर । ब्राजिल र भारतले महत्त्वपूर्ण खनिज पदार्थको आपूर्ति र सहकार्य विस्तार गर्ने उद्देश्यसहित नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। अलजजीराका अनुसार चीनमाथिको निर्भरता घटाउँदै वैकल्पिक आपूर्तिकर्ता खोज्ने भारतको रणनीतिअन्तर्गत यो सम्झौता सम्पन्न भएको हो।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै व्यापार, लगानी तथा रणनीतिक सहकार्य विस्तारका विषयमा छलफल गर्नुभएको थियो।

प्रधानमन्त्री मोदीले उक्त सम्झौताले लचिलो र सुरक्षित आपूर्ति शृङ्खला निर्माण गर्ने दिशामा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्। राष्ट्रपति लुलाले पनि नवीकरणीय ऊर्जा र महत्त्वपूर्ण खनिज क्षेत्रमा लगानी तथा प्राविधिक सहकार्य विस्तार गर्न भारतसँग सहमति भएको उल्लेख गरेका छन्।

विश्वव्यापी रूपमा दुर्लभ–पृथ्वी तथा रणनीतिक खनिजको खानी उत्खनन र प्रशोधन क्षेत्रमा चीनको प्रभुत्व रहेको छ, जसले वैकल्पिक स्रोत खोज्ने प्रयासलाई तीव्र बनाएको छ।

भारतको विदेश मन्त्रालयका प्रवक्ताका अनुसार खनिज सम्झौतासँगै डिजिटल सहकार्य, स्वास्थ्य तथा अन्य क्षेत्र समेट्ने गरी नौ अतिरिक्त समझदारीपत्रमा पनि हस्ताक्षर गरिएको छ।

आर्थिक जटिलताको अवलोकनकर्ता (OEC) को तथ्याङ्कअनुसार सन् २०२४ मा भारतले ब्राजिलतर्फ ७ अर्ब २३ करोड अमेरिकी डलर बराबरको निर्यात गरेको थियो भने ब्राजिलले भारततर्फ ५ अर्ब ३८ करोड डलर बराबरको निर्यात गरेको थियो। -न्यूज एजेन्सी

सम्बन्धित समाचारसबै