काठमाण्डौं। गाजा क्षेत्रमा जारी युद्धविरामबीच गरिएको इजरायलको हवाई आक्रमणमा कम्तीमा ११ प्यालेस्टिनीको ज्यान गएको छ। प्यालेस्टिनी रेड क्रेसेन्टका अनुसार उत्तरी गाजाको एक शरणार्थी शिविरमा भएको आक्रमणमा ६ जना र दक्षिणी क्षेत्रमा भएको अर्को आक्रमणमा ५ जनाको मृत्यु भएको हो।
इजरायली रक्षा बलले हमासद्वारा युद्धविराम उल्लंघन भएपछि “आतंककारी लक्ष्य”माथि जवाफी कारबाही गरिएको दाबी गरेको छ। तर हमासले भने इजरायलले नै सम्झौता तोडेको आरोप लगाएको छ। दुवै पक्षबीच आरोप–प्रत्यारोप जारी रहँदा युद्धविरामको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ।
हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम सुरु भएयता मात्र ६ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा हालसम्म गाजामा ७१ हजार ८ सयभन्दा बढी मानिसको ज्यान गएको दाबी गरिएको छ।
यसैबीच, डोनाल्ड ट्रम्पले गाजाको सीमा सुरक्षा र पुनर्निर्माणका लागि “बोर्ड अफ पिस” गठन गर्ने घोषणा गरेका छन्। युद्धविरामको दोस्रो चरण कार्यान्वयनको तयारी भइरहेकै बेला पुनः भड्किएको हिंसाले शान्ति प्रयासलाई थप चुनौती थपेको छ। -न्यूज एजेन्सी