रौतहट सदरमुकाम आसपास दुई समुदायबीच उत्पन्न तनाव नियन्त्रण तथा दीर्घकालीन सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले आइतबार बिहान स्थानीय प्रशासनको नेतृत्वमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।
बैठकले शान्तिपूर्ण वातावरण सुदृढ बनाउन संयुक्त पहल गर्ने तथा सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार वर्तमान परिस्थितिप्रति सरोकारवाला पक्षहरूले चिन्ता व्यक्त गर्दै सार्वजनिक रूपमा संयमता अपनाउन आग्रह गर्ने सहमति भएको छ।
स्थानीय तहका जनप्रतिनिधि, समुदायका अगुवा तथा सुरक्षा निकायबीच समन्वय बढाउँदै समस्या समाधानका लागि निरन्तर संवाद गर्ने विषयमा पनि सहमति जुटाइएको छ। सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै त्यस्ता गतिविधि नियन्त्रण गर्न विशेष ध्यान दिने निर्णय गरिएको छ।
बैठकले विवादका क्रममा भएका घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति कायम राख्न संयुक्त अपिल गर्ने, कर्फ्यु लागू अवस्थाबीच सौहार्दपूर्ण वातावरण निर्माणमा सहयोग गर्ने तथा सद्भाव बिगार्ने गतिविधिमा संलग्नमाथि निगरानी बढाउने निर्णय गरेको छ। पक्राउ परेकामाथि अनुसन्धानका आधारमा कानुनी कारबाही गर्ने र थप संलग्नता देखिए अन्य व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउने प्रशासनको तयारी छ।
धार्मिक, सामाजिक तथा सांस्कृतिक सहअस्तित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले नागरिक समाजको अगुवाइमा सबै पक्षको सहभागितामा निर्धारित समयमा सद्भाव र्याली आयोजना गरिने भएको छ । प्रशासनले शान्ति सुरक्षा कायम राख्न सबै समुदायलाई संयमित व्यवहार गर्न तथा अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ।