अफगानिस्तानका पूर्वी प्रान्तमा पाकिस्तानी हवाई हमला, २० जनाको मृत्यु

0 Shares

काठमाडौँ । पाकिस्तानले अफगानिस्तानसँग जोडिएको सीमावर्ती क्षेत्रमा हवाई आक्रमण गरेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको छ।

अफगानिस्तानका पूर्वी नान्घार र दक्षिणपूर्वी पक्तिका प्रान्तमा भएका आक्रमणमा दर्जनौँ नागरिक मारिएको जनाइएको छ। नान्घारमा एक घर लक्षित आक्रमण हुँदा करिब २० जनाको ज्यान गएको बताइएको छ भने पक्तिकामा एक मदरसामाथि आक्रमण भएको स्थानीय स्रोतहरूले बताएका छन्।

पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले भने गोप्य सूचनाका आधारमा सीमा क्षेत्रमा रहेका “आतंकवादी अड्डा र शिविर”लाई लक्षित गर्दै कारबाही गरिएको दाबी गरेको छ। पाकिस्तानका अनुसार तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) तथा उसका सहयोगी समूह र इस्लामिक स्टेट खोरसान प्रान्तसँग सम्बद्ध तत्वहरू रहेको स्थानमा आक्रमण गरिएको हो।

हालै पाकिस्तानभित्र भएका आत्मघाती आक्रमणमा यिनै समूहको संलग्नता देखिएको दाबी गर्दै जवाफस्वरूप हवाई कारबाही गरिएको बताइएको छ। साथै, यस्ता समूहविरुद्ध कडा कदम चाल्न पटक पटक आग्रह गर्दा पनि अफगान तालिबान सरकारले प्रभावकारी कारबाही नगरेको आरोप पाकिस्तानले लगाएको छ।

सम्बन्धित समाचारसबै