काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले गम्भीर घुँडा चोटको उपचारमा आवश्यक सहयोग नपाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)प्रति असन्तुष्टि जनाएकी छन्।
अस्ट्रेलियाको ‘निन्जा ए लिग’ खेल्दै गर्दा न्युजिल्यान्डको क्लब वेलिङ्टन फिनिक्स फुटबल क्लबबाट आबद्ध साम्बाको दाहिने घुँडाको एसिएल पूर्ण रूपमा च्यातिएको थियो। ब्रिस्बेन रोअरविरुद्धको खेलमा विपक्षी गोलकिपरसँग ठोक्किँदा उनी घाइते भएकी थिइन्। चिकित्सकका अनुसार पुनः मैदान फर्कन कम्तीमा ९ देखि १२ महिना लाग्नेछ।
दुई महिनासम्म शल्यक्रिया हुन नसकेको भन्दै उनले सामाजिक सञ्जालमार्फत उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्। उनका अनुसार यसअघि एन्फाको पहलमा कतारको अस्पेटार अस्पतालमा सफल उपचार भएको थियो, तर यसपटक प्रशासनिक सहयोग नपाएको गुनासो छ। एन्फा अध्यक्षले नगद पाँच लाख रुपैयाँसम्म सहयोग गर्ने बताए पनि समग्र उपचार खर्चका लागि पर्याप्त नहुने उनको भनाइ छ।
साम्बाले पुनः कतारमै शल्यक्रिया गराउने योजना बनाएकी छन्। अनुमानित ८० हजार अमेरिकी डलर खर्च लाग्ने बताउँदै उनले समर्थकसँग साथ दिन आग्रह गरेकी छन्। क्लबले बीमाबाट प्राप्त रकम उपलब्ध गराउने जनाएको भए पनि पूर्ण उपचार र लामो पुनर्स्थापनाका लागि थप रकम आवश्यक पर्ने उनले उल्लेख गरेकी छन्।
फ्रान्स, इसराइल र भारतका शीर्ष लिगमा सफल प्रदर्शन गरिसकेकी साम्बा दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमध्ये एक मानिन्छिन्। २०१४ देखि राष्ट्रिय टोलीमा आबद्ध उनी हाल सर्वाधिक गोलकर्ताको कीर्तिमान राख्दै नेपाली महिला टोलीको कप्तानको भूमिकामा छन्।