मोरङ अब कांग्रेस मय हुदैछ : संयोजक गिरि

0 Shares

विराटनगर ।
प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेसँगै मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसले आफ्नो प्रभावलाई निकै बलियो बनाउँदै लगेको छ। नेपाली कांग्रेसका प्रभावशाली नेता एवं महामन्त्री गुरुराज घिमिरे उम्मेदवार बनेसँगै यस क्षेत्रमा नयाँ राजनीतिक तरंग उत्पन्न भएको छ।

घिमिरेको चुनावी अभियानलाई थप ऊर्जा दिन गठित ‘युवा परिचालन समिति’ यतिबेला मैदानमा आक्रामक रूपमा उत्रिएको छ। युवा नेता अभिषेक गिरीको संयोजकत्वमा रहेको यो समितिले टोल र वडा तहसम्म पुगेर युवाहरूलाई संगठित मात्र गरेको छैन, अन्य दल परित्याग गरी कांग्रेस प्रवेश गर्नेहरूको लहर नै चलाएको छ।

संयोजक गिरीका अनुसार चुनावी अभियान सुरु भए यता मात्रै विभिन्न पार्टी परित्याग गरी ५०० भन्दा बढी सक्रिय कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन्।

“अहिले मोरङ-४ मा कांग्रेसको पक्षमा एउटा स्पष्ट लहर देखिएको छ। हामी टोल-टोल र बस्ती-बस्ती पुगिरहेका छौं। हरेक दिन अन्य पार्टीका साथीहरू हाम्रो एजेन्डा र गुरुराज घिमिरेको नेतृत्वप्रति विश्वास गर्दै कांग्रेसमा समाहित भइरहनुभएको छ,” संयोजक गिरीले बताए।

चुनावी प्रचारकै क्रममा सोमबार मोरङ-४ का विभिन्न स्थानमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। ग्रामथान (पिडारबनी) मा सोमबार दिउँसो आयोजित एक कार्यक्रमका बीच १०० जना लगभग कार्यकर्ताहरु विभिन्न दल त्याग गरी कांग्रेसमा प्रवेश गरे।

सोही दिन साँझ कटहरीमा नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी फिरोज खान, असलम सेख सहितका युवाहरू कांग्रेसमा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई उम्मेदवार गुरुराज घिमिरे र युवा संयोजक अभिषेक गिरीले पार्टीमा स्वागत गरेका थिए। सो अवसरमा बोल्दै संयोजक गिरीले भने, “मोरङ बिस्तारै ‘कांग्रेसमय’ बन्दैछ। जनताले विकास र परिवर्तन चाहेका छन् र त्यसको संवाहक गुरुराज घिमिरे नै हुन् भन्नेमा अब कुनै दुविधा छैन। घिमिरेको जित सुनिश्चित भइसकेको छ।”

आगामी दिनमा पार्टी प्रवेशको यो क्रम अझै बढ्ने र विपक्षी दलहरूमा यसले ठूलो धक्का पुग्ने दाबी कांग्रेस वृत्तको छ।

सम्बन्धित समाचारसबै