हनुमानढोकामा चीर उठेसँगै रंगको पर्व शुरू

0 Shares

काठमाण्डौ। काठमाण्डौको हनुमानढोका दरबार क्षेत्र अन्तर्गत वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याइएसँगै यस वर्षको होली पर्व औपचारिक रूपमा शुरू भएको छ। आज बिहान ७ बजेर १३ मिनेटको शुभ साइतमा करिब ३२ फिट अग्लो बाँस गाडेर चीर ठड्याइएको हो।

रङ्गीचङ्गी कपडाले सजाइएको चीरको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको थियो। चीर ठड्याएपछि सहभागीहरूले परिक्रमा गर्दै एकआपसमा अबीर छ्यापी हर्षोल्लासका साथ होली मनाउन थाले। यस अवसरमा गुरुजुको पल्टनले परम्परागत हर्षबढाइँ प्रस्तुत गरेको थियो भने चीर उठाएको दृश्य अवलोकन गर्न वसन्तपुर क्षेत्रमा उल्लेख्य भीड लागेको थियो।

नेपाल पञ्चाङ्ग निर्णायक समिति ले तोकेको साइतअनुसार फागुन शुक्ल अष्टमीदेखि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भागमा होलीको माहोल शुरू हुन्छ। परम्पराअनुसार फागुन शुक्ल पूर्णिमाको राति चीरलाई टुँडिखेलमा लगेर दहन गरेपछि होली पर्व समापन भएको मानिन्छ।

यस वर्ष काठमाण्डौ उपत्यका तथा पहाडी जिल्लाहरूमा फागुन १८ गते र तराई मधेशका जिल्लाहरूमा फागुन १९ गते होली परेको छ। सरकारले पर्वका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ।

सम्बन्धित समाचारसबै