अमेरिकाको पूर्वी तटमा ऐतिहासिक हिमआँधी:जनजीवन अस्तव्यस्त

0 Shares

काठमाण्डौं । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा सोमबार आएको भीषण हिमपातले जनजीवन पूर्ण रूपमा प्रभावित बनाएको छ। दशकौँयताकै रेकर्ड तोड्ने हिमआँधीका कारण लाखौँ नागरिक प्रभावित भएका छन् भने हजारौँ हवाई उडान रद्द भएका छन्।

न्युयोर्क सहरदेखि म्यासाचुसेट्स राज्यसम्मका क्षेत्र बाक्लो हिउँले ढाकिँदा सडक यातायात, हवाई सेवा र विद्युत् आपूर्ति अवरुद्ध भएको छ। राष्ट्रिय मौसम सेवाका अनुसार रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही स्थानमा झण्डै ३३ इन्चसम्म हिउँ जमेको छ। सेन्ट्रल पार्कमा मात्र १९ इन्चभन्दा बढी हिमपात मापन गरिएको छ।

न्यु जर्सी र म्यासाचुसेट्समा सबैभन्दा ठूलो असर देखिएको छ, जहाँ ६ लाखभन्दा बढी घर तथा व्यवसायहरू विद्युत् आपूर्तिबाट वञ्चित भएका छन्। रोड आइल्याण्डको राजधानी प्रोभिडेन्समा सन् १९७८ को २८.६ इन्चको रेकर्डलाई उछिन्दै यसपटक ३३ इन्च हिमपात भएको छ।

हिउँको थुप्रोका कारण सयौँ सवारी साधन सडकमै अलपत्र परेका छन्। उद्धार तथा सफाइ कार्यमा अवरोध पुर्‍याउने ३०० भन्दा बढी गाडीहरू प्रहरीले हटाएको जनाएको छ। सुरक्षाका कारण रोड आइल्याण्ड, कनेक्टिकट र म्यासाचुसेट्समा अत्यावश्यक बाहेकका यात्रामा प्रतिबन्ध लगाइएको छ।

म्यासाचुसेट्सकी गभर्नर माउरा हिलीले नागरिकलाई घरभित्रै सुरक्षित रहन आग्रह गर्दै कम दृश्यताका कारण उद्धार कार्यसमेत कठिन भएको बताएकी छन्। व्यस्त न्युयोर्क सहर पनि दिउँसोसम्म सुनसानजस्तै बनेको थियो।

उडान अनुगमन सेवा फ्लाइटअवेयरका अनुसार अमेरिकाभित्र र बाहिर हुने ५ हजार ६ सयभन्दा बढी उडानहरू रद्द भएका छन्। न्युयोर्कका लागार्डिया र जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने ९० प्रतिशतभन्दा बढी उडान ठप्प भएका छन् भने बोस्टन र न्यु जर्सीका प्रमुख विमानस्थलहरूले पनि अधिकांश उडान कटौती गरेका छन्।

म्यासाचुसेट्सको केप कड क्षेत्रमा ८५ प्रतिशत ग्राहक अन्धकारमा बस्न बाध्य भएका छन्। रुखका हाँगा भाँचिएर विद्युत्का तार र सडकमा खस्दा दुर्घटनाको जोखिम अझै बढेको अधिकारीहरूले बताएका छन्।

 

सम्बन्धित समाचारसबै