एन्जु शिवाकोटी, विराटनगर ।
चुनाव नजिकिँदै जाँदा गाउँ सहरका सडकहरू पोस्टरले ढाकिन्छन्, झण्डाले आकाश छेक्छ, र ठूलो स्पिकरको आवाजले शान्ति तोड्छ। गाडीको लाम, कार्यकर्ताको भीड, महँगो प्रचार र भाषणका मञ्च हामीले देखिरहने चुनावी दृश्य यिनै हुन्।
तर यही भीड र हल्लाबीच एउटा फरक दृश्य पनि छ। म्याग्दीका डाँडाकाँडा, गोरेटो बाटो र गाउँका आँगन हुँदै महावीर पुन शान्त गतिमा हिँडिरहेका छन्। न त अगाडि साइरन बजाउने गाडी, न पछाडि झण्डा बोकेका मोटरसाइकलहरूको लस्कर । उनी आफ्नै तालमा छन् । यतिबेला म्याग्दीमा उनले जस्तो जीवन बिताए, त्यस्तै प्रचार गरिरहेका छन्। ल है महावीर पुन भन्ने मान्छे आयो, यहीँ मान्छे हो भोट दिन मनलागे दिनु दिनमन नलागे नदिनु भन्ने उनको भनाइमा सरला देखिन्छि ।
महावीर पुन गाउँ पुग्दा स्थानीयले भन्छन्, “आज हाम्रो घरमा बस्नुस्।” कसैले चिया दिन्छ, कसैले ढिँडो रगुन्द्रुक खुवाउँछ त कसैले सुत्ने कोठा मिलाइदिन्छ। कतै कतै गाउँलेहरूले सानो रकम हातमा थमाउँदै भन्छन्, “हामीसँग धेरै छैन, तर तपाईंको यात्रामा काम लागोस्।” यो दृश्य देख्दा वा सुन्दा लाग्छ चुनावी प्रचार खर्चले होइन, विश्वासले चल्न सक्छ। उनी प्रतिको विश्वासले आज जनतालाई पैसा दिएर हैन जनताले पैसा दिएर एक उमेदवार चुनावी मैदानमा छन् । सायद यो उनको इमानदारीताको पुरस्कार हो । उनी प्रति आमनागरिकले देखाएको विश्वास हो ।
आफ्नो आत्माकथा बेच्दै हिनिरहेका महावीर समय र परिस्थितिले मन्त्री बन्न पुगे । चुनावमा जान्न भनिरहेका उनीले एकाएक स्वतन्त्र उमेदवारी दिए । पुस्तक किन्ने पाठक आज मतदाता भएका छन् । उनीहरू क्वल एउटा जीवनयात्राको साक्षी मात्र बनेका छैनन् । गरिबी, संघर्ष, विदेशको श्रम, अध्ययन, र फेरि देश फर्केर समाजका लागि केही गर्ने अठोट बोकेर हिडिरहेका पुनको भावि यात्रा तय गर्ने व्यक्ति बनेका छन् ।
महावीर पुनलाई केवल उम्मेदवार भनेर बुझ्नु अधुरो हुनेछ। ग्रामीण क्षेत्रमा प्रविधि पुर्याउने प्रयास, अनुसन्धान र नवप्रवर्तनको अभियान, युवालाई विज्ञानतर्फ प्रेरित गर्ने कामहरू र उनको संघर्षले उनलाई अरु उमेदवार भन्दा फरक बनाएको छ। उनको भनाई उनी जस्तै सरल छ । विकासको बाटो शिक्षा, विज्ञान र स्थानीय अवसरबाटै खुल्छ।
आज चुनावी मैदानमा अन्य उम्मेदवारहरूको होडबाजी चर्को छ। कतै हेलिकप्टर, कतै महँगा स्टेज, कतै भोज कतै चटक् त कतै शक्ति प्रदर्शन। सबै उमेदवारहरुका सम्पर्क कार्यालय, प्रचारप्रसार कमिटी गठन र्याली सहित तामझामले भागदौड चलिरहेको छ । सबैलाई आफू राम्रो देखाउन हतार छ । तर महावीर पुन भने आफ्नै तालमा एक्लै हिँडिरहेका छन्। भीडको आवाजभन्दा उनी संवादमा विश्वास गर्छन्। प्रचारको चमकधमक भन्दा उनी भरोसामा भरोसा गर्छन्। त्यही कुराले त उनलाई अरु भन्दा फरक बनाएको छ ।
हामी यस्तो समाजमा बाँचिरहेका छौँ जहाँ नेता जनताको घरमा चुनावअघि मात्र पुग्छन्, चुनाव जितेपछि गेट अगाडि सुरक्षागार्ड राखेर बस्छ। जहाँ विकासका भाषणहरू ठूला हुन्छन्, तर गाउँको बाटो भने अझै उस्तै हुन्छ। जहाँ सेवा गर्ने वाचा हुन्छ, तर सेवा लिन पुगेपछि कागजको फाइल हराउँछ। यस्तो दृश्यहरू देख्दै आएका हामीहरु महावीर पुनको साधारण चुनावी यात्रा आफैंमा हजारैं प्रश्न जस्तो लाग्छ । नेता जनताबाट टाढा बस्नुपर्ने किनर? चुनावी तामझाम सहितको रोनक किन ?
यो केवल एक उम्मेदवारको कथा होइन। यो एउटा शैलीको कथा हो । सरलता, विश्वास र सहभागिता शैलीको कथा । भीडले भरिएको चुनावी मैदानमा एक व्यक्ति आफ्नै तालमा हिँडिरहेको छ। सायद यही फरकपनले चुनावलाई अर्थ दिन्छ। सायद यही सरलताले नेतृत्वलाई विश्वसनीय बनाउँछ। र सायद यही यात्राले हामीलाई सम्झाउँछ । परिवर्तन ठूलो आवाजले होइन, सानो कदमबाट सुरु हुन्छ।