अमेरिका–इजरायलको आक्रमणप्रति रुसको कडा आपत्ति, इरान संकटमा संयमको आह्वान

0 Shares

काठमाडौँ । रुसले अमेरिका र इजरायलले इरानमाथि गरेको हालिया आक्रमणको कडा शब्दमा विरोध जनाएको छ । मस्कोले उक्त कदमलाई ‘खतरनाक’ र ‘विनासकारी’ भन्दै यसले मध्यपूर्वलाई गम्भीर मानवीय तथा क्षेत्रीय संकटतर्फ धकेल्न सक्ने चेतावनी दिएको हो ।

क्रेमलिनले बढ्दो तनावका बीच सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । रुस–युक्रेन युद्धको पृष्ठभूमिमा तेहरान मस्कोको प्रमुख सहयोगीका रूपमा देखिँदै आएको सन्दर्भमा रुसले इरानसम्बन्धी घटनाक्रमलाई चासोका साथ हेरिरहेको छ ।

रुसको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा वासिङ्टन र तेल अभिभले क्षेत्रीय स्थिरतालाई जोखिममा पार्ने कदम चालेको आरोप लगाइएको छ । इरानको संवैधानिक व्यवस्थामाथि प्रहार गर्दै सरकार परिवर्तनको मनसाय राखिएको दाबी पनि विज्ञप्तिमा गरिएको छ ।

मन्त्रालयले सम्भावित ‘श्रृङ्खलाबद्ध प्रतिक्रिया’ र हिंसाको चक्र तीव्र हुन सक्ने भन्दै त्यसको जिम्मेवारी आक्रमणकारी पक्षमै रहने स्पष्ट पारेको छ । साथै, अन्तर्राष्ट्रिय कानुन, आपसी सम्मान र शक्ति सन्तुलनमा आधारित कूटनीतिक समाधान खोज्न रुस तयार रहेको जनाएको छ ।

यसैबीच, मस्कोले इरान र इजरायलमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन तथा आवश्यक परे देश छाड्न आग्रह गरेको छ ।

यसअघि सन् २०२५ मा रुस र इरानबीच सैन्य सहकार्यसहित सम्बन्ध सुदृढ गर्ने रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर भएको थियो । उता किएभ र उसका पश्चिमी सहयोगीहरूले इरानले रुसलाई ड्रोन र छोटो दूरीका मिसाइल उपलब्ध गराएको आरोप लगाउँदै आएका छन् ।

सम्बन्धित समाचारसबै