पाकिस्तानमा इरानी नेता खामेनीको मृत्युपछि विरोध प्रदर्शन: ९ जनाको मृत्यु, ३२ घाइते

0 Shares

काठमाडौँ । इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको मृत्युको खबर सार्वजनिक भएपछि पाकिस्तानमा तनावपूर्ण प्रदर्शन भएको छ। आइतबार बिहान पाकिस्तानको कराँचीस्थित अमेरिकी नियोग कार्यालयअगाडि प्रदर्शन भइरहेका बेला सुरक्षा बल र प्रदर्शनकारीबीच झडप हुँदा ९ जनाको मृत्यु भएको पाकिस्तानी समाचार संस्था द डनले जनाएको छ।

डनले कराँचीको सिभिल अस्पतालका डाक्टर मोहम्मद सबिर मेमनलाई उद्धृत गर्दै मृतक ९ जना र घाइते ३२ जनाको विवरण प्रस्तुत गरेको छ। घाइते र मृतकको शरीरमा गोली लागेको चोट देखिएको बताइएको छ।

प्रदर्शन सुरुमा अश्रुग्याँस प्रहार र लाठीचार्जबाट नियन्त्रण गर्ने प्रयास गरिएको भए पनि हिंसा बढेको थियो। घाइतेहरूमा दुई जना प्रहरी अधिकारी पनि छन्, जसको उपचार जिन्नाह पोस्टग्र्याजुएट मेडिकल सेन्टरमा भइरहेको छ।

पाकिस्तानी सुरक्षा अधिकारीहरूले प्रदर्शन नियन्त्रण गर्न व्यापक सुरक्षा व्यवस्था तैनाथ गरेका थिए। स्थानीय प्रशासन र प्रहरी अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाइएको छ।

विश्लेषकहरूले यस घटनालाई पाकिस्तानमा धार्मिक र राजनीतिक संवेदनशीलतालाई संकेत गर्ने घटना मानेका छन्। अमेरिकाको नियोग अगाडि भएको प्रदर्शनले अन्तर्राष्ट्रिय सम्बन्धमा समेत प्रभाव पार्ने सम्भावना रहेको टिप्पणी गरिएको छ।

सम्बन्धित समाचारसबै