मध्यपूर्वमा सुरक्षा संकट गहिरिँदै, अमेरिकाद्वारा आफ्ना नागरिकलाई तत्काल बाहिरिन आग्रह

0 Shares

काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा जोखिमका बीच अमेरिकाले त्यहाँ रहेका आफ्ना नागरिकलाई सकेसम्म छिटो सम्बन्धित देशहरू छोड्न आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयले आक्रमणको सम्भावित खतरालाई मध्यनजर गर्दै सतर्कता सूचना जारी गरेको हो।

विदेश मन्त्रालयले पश्चिम किनारा, गाजा क्षेत्र, जोर्डन, बहराइन, मिस्र, इरान, इराक, इजरायल, कुवेत, लेबनान, ओमन, कतार, साउदी अरब, सिरिया, संयुक्त अरब इमिरेट्स र यमन मा रहेका अमेरिकी नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानतर्फ सर्न सुझाव दिएको जनाएको छ।

यो आग्रह इरानले मध्यपूर्वका विभिन्न देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै आक्रमण गरिरहेको दाबी सार्वजनिक भइरहेका बेला आएको हो। पछिल्ला दिनहरूमा क्षेत्रीय तनाव तीव्र बन्दै गएको छ।

यसअघि इजरायल र संयुक्त राज्य अमेरिका ले शनिबारदेखि इरान माथि सैन्य कारबाही सुरु गरेको जनाइएको छ। उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी को मृत्यु भएको दाबीसमेत गरिएको छ। त्यसपछि इरानले पनि इजरायल तथा अमेरिकी सैन्य उपस्थिति रहेका खाडी क्षेत्रका मुलुकहरूमा प्रतिआक्रमण जारी राखेको बताइएको छ।

यसैबीच, रियाद स्थित अमेरिकी दूतावास परिसरमा मानवविहीन विमान (ड्रोन) आक्रमण भएको साउदी अरबको रक्षा मन्त्रालयले पुष्टि गरेको छ। दूतावास भवनलाई लक्षित गर्दै दुईवटा मानवविहीन विमानबाट आक्रमण गरिएको जनाइएको छ। घटनापछि त्यहाँ सुरक्षा सतर्कता थप कडा पारिएको छ।

मध्यपूर्व क्षेत्रमा विकसित घटनाक्रमले अन्तर्राष्ट्रिय समुदायमा चिन्ता बढाएको छ। विभिन्न देशहरूले आफ्ना नागरिकलाई सुरक्षित रहन तथा अनावश्यक यात्रा नगर्न आग्रह गर्दै अवस्था नजिकबाट नियालिरहेका छन्।

सम्बन्धित समाचारसबै