मध्यपूर्वमा तनाव बढ्यो : कतारमा अमेरिकी बेसमा इरानी प्रहार

0 Shares

काठमाडौँ । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरेको विषयलाई कतारको रक्षा मन्त्रालयले आधिकारिक रूपमा पुष्टि गरेको छ।

कतारको राजधानी दोहाको दक्षिणपश्चिममा अवस्थित उक्त अड्डा मध्यपूर्वमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य आधारका रूपमा परिचित छ। मन्त्रालयका अनुसार मंगलबार राति इरानबाट प्रहार गरिएका दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्रले कतारलाई लक्षित गरेका थिए।

जारी वक्तव्यमा उल्लेख भएअनुसार एक क्षेप्यास्त्रलाई कतारको हवाई प्रतिरक्षा प्रणालीले अवरोध गरी नष्ट गरेको थियो भने अर्को क्षेप्यास्त्र अल उदैद सैन्य अड्डा परिसरमा खसेको थियो। घटनाबाट कुनै मानवीय क्षति नभएको मन्त्रालयले स्पष्ट पारेको छ। यद्यपि भौतिक क्षति पुगेको छ वा छैन भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

कतारी सशस्त्र बलले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न पूर्ण क्षमता राखेको र बाह्य खतराप्रति कडा जवाफ दिन तयार रहेको पनि मन्त्रालयले जनाएको छ।

यसैबीच, मन्त्रालयले नागरिक, बसोबास गर्ने विदेशी नागरिक तथा आगन्तुकहरूलाई शान्त रहन, आधिकारिक निकायबाट जारी निर्देशन पालना गर्न तथा अप्रमाणित हल्ला भन्दा आधिकारिक सूचनामा विश्वास गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचारसबै