काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज भइरहेको मतदान प्रक्रियामा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादव सहभागी भएनन्।
संवैधानिक पदको तटस्थता कायम राख्ने उद्देश्यले उनीहरूले मतदान नगर्ने निर्णय गरेको जनाइएको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार संविधानका संरक्षक र राष्ट्रका अभिभावकको भूमिकामा रहेकाले राष्ट्रपति पौडेलले यस पटक मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेका हुन्।
राष्ट्रपति पौडेलले अघिल्ला निर्वाचनहरूमा भने आफ्नो गृह जिल्ला तनहुँको व्यास नगरपालिकास्थित सत्यवती माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए।
त्यसैगरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि संवैधानिक तटस्थता कायम राख्ने कारणले यसपटक मतदान प्रक्रियामा सहभागी नभएको उनका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिएका छन्।
उपराष्ट्रपति यादवले यसअघिका निर्वाचनहरूमा बाराको बसबरीयास्थित मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए।– रासस