एन्जु शिवाकोटी,विराटनगर ।
प्रत्येक वर्ष मार्च ८ मा विश्वभर अन्तरराष्ट्रिय नारी दिवस मनाइन्छ। यो दिवस महिलाहरूको अधिकार, समानता र सम्मानको आवाज बलियो बनाउने उद्देश्यले मनाइने गरिन्छ। समाज, राष्ट्र र विश्व निर्माणमा महिलाले पुर्याएको योगदानलाई सम्मान गर्दै उनीहरूका अधिकारका लागि सचेतना फैलाउने दिनका रूपमा नारी दिवसलाई विशेष महत्व दिइन्छ।
अन्तरराष्ट्रिय नारी दिवस मनाउने परम्परा २०औँ शताब्दीको सुरुवातसँगै सुरु भएको मानिन्छ। सन् १९०८ मा अमेरिकाको न्यूयोर्क शहरमा हजारौँ महिला कामदारले कामको समय घटाउन, उचित तलब पाउन र मतदानको अधिकारको माग गर्दै आन्दोलन गरेका थिए। त्यस आन्दोलनले महिलाको अधिकारको विषयलाई विश्वभर चर्चा गरायो।
त्यसपछि सन् १९१० मा डेनमार्कको कोपेनहेगनमा आयोजित अन्तरराष्ट्रिय समाजवादी महिला सम्मेलनमा जर्मनीकी समाजवादी नेतृ क्लारा जेटकिनले महिलाको अधिकार र समानताको पक्षमा अन्तरराष्ट्रिय नारी दिवस मनाउने प्रस्ताव राखिन्। सम्मेलनमा सहभागी विभिन्न देशका महिलाहरूले उक्त प्रस्तावलाई समर्थन गरेपछि नारी दिवस मनाउने निर्णय गरिएको थियो। सन् १९११ मा अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्यान्डलगायत केही युरोपेली देशहरूमा पहिलोपटक अन्तरराष्ट्रिय नारी दिवस मनाइएको थियो। पछि सन् १९७५ मा संयुक्त राष्ट्रसंघले पनि औपचारिक रूपमा मार्च ८ लाई अन्तरराष्ट्रिय नारी दिवसका रूपमा मान्यता दिएपछि यो दिवस विश्वभर व्यापक रूपमा मनाउन थालियो।
नारी दिवस केवल एक उत्सव मात्र होइन, यो महिलामाथि हुने विभेद, हिंसा र असमानता अन्त्य गर्दै उनीहरूलाई समाजको हरेक क्षेत्रमा समान अवसर दिलाउने अभियान पनि हो। शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीति, अर्थतन्त्र तथा निर्णय प्रक्रियामा महिलाको समान सहभागिता सुनिश्चित गर्न यस दिवसले प्रेरणा दिने अपेक्षा गरिन्छ।
तर वास्तविकता हेर्दा समाजमा अझै पनि महिलाले विभिन्न प्रकारका विभेद र असमानताको सामना गर्नुपरेको देखिन्छ। धेरैजसो समाजमा छोरी र छोरा जन्मिँदा दिइने बधाईमै पनि फरक देखिन्छ। छोरी जन्मिँदा ‘घरमा लक्ष्मी आयिन्’ भनिन्छ भने छोरा जन्मिँदा ‘वंश थाम्ने जन्मियो’ भन्ने चलन छ। हेर्दा सामान्य जस्तो लाग्ने यी शब्दहरूभित्र गहिरो विभेद लुकेको हुन्छ।
जब एउटा घरमा सन्तानको रूपमा छोरी जन्मिन्छिन् तब भनिन्छ लक्ष्मीको जन्म भयो । बाबु आमा परिवार सबै खुशी हुन्छन् सन्तान प्राप्ति भयो भनेर । तर तपाईंहरूले कहिले महसुस गर्नुभएको छ छोरा र छोरी जन्मिँदाको बधाई कसरी दिइन्छ ? छोरीको जन्म हुँदा– “ल बधाई छ तपाईंको घरमा लक्ष्मीले प्रवेश गरिन् ।” तर छोराको जन्म हुँदा के भनिन्छ थाहा छ ? – “ल है बधाई छ वंश थाम्नेको जन्म भएछ ।”
छोरीले जन्म लिँदा पनि बधाई पाउनु भयो । छोरो जन्म लिँदा पनि । अन्तर के छ त दुवैमा ? छोरीलाई त अझ सम्मान गरेर देवीको संज्ञा दिइएको छ । नौ महिना आमाको कोखमा बसेर समान पीडा सहेर जन्मिएका छोरा–छोरीबीच किन यस्तो भिन्नता गरिन्छ भन्ने प्रश्न उठ्छ। यदि दुवै सन्तान हुन् भने छोरी किन वंशको प्रतीक हुन सक्दिनन्? यस्ता सोच र परम्पराले नै महिलालाई जन्मदेखि नै कमजोर ठान्ने मानसिकता समाजमा गहिरिँदै गएको देखिन्छ।
नारी वास्तवमा को हुन् भन्ने प्रश्न पनि यहाँ उठ्छ। विवाहपछि उनीहरू आफ्नो जन्मघरबाट टाढा हुन्छन् र नयाँ घरमा गएर जीवन बिताउँछन्। तर धेरै अवस्थामा उनीहरूलाई न जन्मघर पूर्ण रूपमा आफ्नै ठानिन्छ, न विवाहपछिको घरमा पूर्ण अधिकार दिइन्छ। यसरी महिलाको आफ्नै पहिचान र अस्तित्वलाई समेत कमजोर बनाउने प्रवृत्ति समाजमा अझै देखिन्छ।
म दुर्गा, म अम्बे, म काली, म लक्ष्मी जे हुँ तर हुँ त नारी । म त्यस बेला देखि कमजोर थिएँ जतिबेला मेरो जन्म भयो । न त भन्छन् समाजले, न त भन्छन् परिवारले अनि न त भन्छन् धर्मले की नारी कमजोर हुन्छन् । बरु त्यसको प्रमाण प्रत्यक्ष–अप्रत्यक्ष देखाइ दिइन्छन् । धर्मले नारीलाई उच्च स्थानमा राखेको छ र माता दुर्गाको नाम पनि दिएको छ । काली भद्रकाली के के नाम छन् देवीका । तर, एउटा नारीको वर्णन उसको पहिचान सुन्दरतासँग गरिएको छ । के नारीको पहिचान सुन्दरतासँग मात्र सीमित छ ?
हिन्दु धर्ममा मात्र होइन संसारको त्यस्तो कुन धर्म छ जहाँ उच्च स्थानमा नराखिएको होस् नारीलाई। र नभनिएको होस् तिमी पुरुष सरह छौं । मानिसले जन्मदेखि मृत्युसम्म गरिने कर्मकाण्डमा कहाँ छन् नारी ? सबै कर्म पुरुषले मात्र किन ? अनि अझ भनिन्छ असल नारी त्यो हो जो पतिव्रता हुन्छे । पत्निव्रता चाहिँ किन हुँदैन ? हो त्यसैले म नारी जन्मेको दिनदेखि कमजोर छु । म आफै कमजोर कदापि होइन किनकि मैले गरेका कर्म पुरुषलाई पछाडि पार्ने पनि छन्, यदाकदा । तर, त्यस्तो कर्म गर्न म नारी हातका औँलामा अटाउँछु । किन सबै नारी पुरुषको बराबरीमा आउन सक्दैनन् ? कसले रोकेको ?
आज समाजमा नारी र पुरुष बराबरीको कुरा धेरै गरिन्छ। तर वास्तविक समानता केवल शब्दमा मात्र सीमित भए त्यसको अर्थ रहँदैन। महिलालाई बराबरीको अधिकार माग्नु परेको होइन, उनीहरूलाई समाजको साथ, सम्मान र अवसर चाहिएको हो। नारी वास्तवमा हो को ? जसको न त घर छ न उसको कुनै थर नै । जुन पुरुषले विवाह गयो त्यही जातको कसरी हुन्छ नारी ? जुन घरमा जन्म लिएकी थिइ त्यो घर किन हुँदैन उसको ? कारण ऊ नारी हो ।
नारी जीवनको अर्को यथार्थ पनि कम पीडादायी छैन। धेरै महिलाले आफ्नो इच्छा, चाहना र सपनालाई त्यागेर परिवार र श्रीमानको जीवनलाई साथ दिने जिम्मेवारी सम्हाल्छन्। तर कतिपय अवस्थामा त्यही समर्पणको कदर हुनुको सट्टा हिंसा, अपमान र अन्याय सहनु पर्ने अवस्था पनि देखिन्छ।
नारी भनेकी त्यही शक्ति हुन् जसले सन्तानलाई जन्म दिन्छिन्, परिवारलाई सम्हाल्छिन् र समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्छिन्। त्यसैले महिलालाई कमजोर भनेर हेर्ने होइन, उनीहरूको योगदानलाई सम्मान गर्दै समान अवसर र अधिकार सुनिश्चित गर्नु आजको आवश्यकता हो।
अन्तरराष्ट्रिय नारी दिवसले यही सन्देश दिन्छ की नारी केवल परिवारको आधार मात्र होइनन्, उनीहरू समाज र राष्ट्र निर्माणका समान साझेदार हुन्। त्यसैले नारीको अधिकार, सम्मान र समानता सुनिश्चित गर्दै उनीहरूलाई सशक्त बनाउनु नै समृद्ध समाज निर्माणको आधार हो।सबै नारीप्रती सम्मान सहित नारी दिवसको शुभकामना ।