काठमाण्डौं । मध्यपूर्वमा बढ्दै गएको युद्धजन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा ऊर्जा आपूर्ति अनिश्चित बनेपछि कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। तेलको मूल्य उकालो लागेसँगै लगानीकर्ताहरू सुरक्षित मानिने मुद्रातर्फ आकर्षित हुँदा अमेरिकी डलरको मूल्य पनि मजबुत बनेको छ।
सोमबार एसियाली बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब १२० डलरको नजिक पुगेको थियो। तर जी-७ का अर्थमन्त्रीहरूले आपतकालीन भण्डारबाट तेल निकाल्ने सम्भावनाबारे छलफल गर्ने खबर सार्वजनिक भएपछि मूल्यमा केही गिरावट देखिएको छ।
तेलको मूल्य बढेसँगै अन्य प्रमुख मुद्राहरूमा दबाब परेको छ। युरो, स्टर्लिङ पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य करिब ०.६ देखि ०.७ प्रतिशतसम्म घटेको अन्तर्राष्ट्रिय वित्तीय बजारको तथ्यांकले देखाएको छ। अमेरिका ऊर्जा निर्यात गर्ने मुलुक भएकाले युरोपेली अर्थतन्त्रको तुलनामा अमेरिकी डलरलाई लगानीकर्ताहरूले अझ सुरक्षित विकल्पका रूपमा हेरेका छन्।
बजार विश्लेषकहरूका अनुसार इन्धनको मूल्य वृद्धि विश्वव्यापी मुद्रास्फीति बढाउने र आर्थिक वृद्धिलाई सुस्त बनाउन सक्ने चिन्ता बढेको छ। यही कारण लगानीकर्ताहरू जोखिमयुक्त सम्पत्तिभन्दा सुरक्षित मानिने मुद्रामा लगानी गर्न इच्छुक देखिएका छन्।
विशेष गरी तेल र ग्यास आयातमा बढी निर्भर रहने एसियाली देशहरू ऊर्जा संकटबाट सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको छ।
यसबीच इरान ले आफ्नो कठोर अडान कायम राख्दै उत्तराधिकारी घोषणा गरेको र ओमान खाडी आसपासको जलमार्गमा आक्रमण जारी राखेको समाचार सार्वजनिक भएको छ। उक्त जलमार्गमार्फत विश्वको करिब २० प्रतिशत इन्धन आपूर्ति हुने भएकाले यस क्षेत्रमा तनाव बढ्दा ऊर्जा बजारमा थप दबाब परेको छ।
त्यस्तै कतार का ऊर्जा मन्त्रीले खाडी क्षेत्रका ऊर्जा उत्पादकहरूले निर्यात घटाउन वा रोक्न सक्ने चेतावनी दिएका छन्। यस्तो अवस्था आएमा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
ऊर्जा मूल्यमा आएको तीव्र वृद्धिले विश्वव्यापी महँगी बढाउने र आर्थिक गतिविधिमा असर पार्ने जोखिम बढाएको छ। यस्तो अवस्थामा केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने सम्भावना पनि कमजोर हुँदै गएको विश्लेषकहरूको भनाइ छ।
यसका कारण आगामी साताहरूमा अन्तर्राष्ट्रिय वित्तीय बजार अझ अस्थिर र चुनौतीपूर्ण बन्न सक्ने संकेत देखिएको छ।