नेपालको शान्तिपूर्ण निर्वाचनप्रति बंगलादेशका प्रधानमन्त्री रहमानको बधाई

0 Shares

काठमाडौं । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएकोमा नेपाल सरकार तथा नेपाली जनतालाई बधाई दिएका छन्।

प्रधानमन्त्री रहमानले जारी गरेको शुभकामना सन्देशमा उक्त निर्वाचनले नेपाली जनताको लोकतन्त्रप्रतिको गहिरो प्रतिबद्धता र लोकतान्त्रिक संस्थाहरूको मजबुतीलाई स्पष्ट रूपमा देखाएको उल्लेख गरेका छन्। उनले नेपालमा सम्पन्न निर्वाचनलाई महत्वपूर्ण लोकतान्त्रिक अभ्यासका रूपमा व्याख्या गर्दै यसले दक्षिण एशियामा लोकतान्त्रिक मूल्य र अभ्यासलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

सन्देशमा उनले आगामी दिनमा बंगलादेश र नेपालबीचको मित्रता, व्यापार तथा विकास सहकार्य अझ विस्तार हुने अपेक्षा पनि व्यक्त गरेका छन्। दुई देशबीचको सहकार्यले क्षेत्रीय समृद्धि र पारस्परिक हितलाई मजबुत बनाउने उनको भनाइ छ।

नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि विभिन्न देशका नेताहरूले नेपाललाई बधाई तथा शुभकामना सन्देश पठाइरहेका छन्। सोही क्रममा बंगलादेशका प्रधानमन्त्री रहमानले पनि नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति सम्मान प्रकट गर्दै बधाई दिएका हुन्।

उल्लेखनीय छ कि बंगलादेशमा पनि गत माघ महिनामा आमनिर्वाचन सम्पन्न भएको थियो। त्यस निर्वाचनपछि फागुन ५ गते तारिक रहमान प्रधानमन्त्रीमा नियुक्त भएका थिए। रहमान बंगलादेशको प्रमुख राजनीतिक दल बीएनपी (बंगलादेश नेशनलिस्ट पार्टी)का अध्यक्ष हुन्। उक्त निर्वाचनमा बीएनपीले बहुमत प्राप्त गर्दै सरकार गठन गरेको थियो।

यसअघि सन् २०२४ मा बंगलादेशमा पनि विद्यार्थी नेतृत्वको ‘जेनजी आन्दोलन’ भएको थियो, जसले देशको राजनीतिक परिदृश्यमा महत्वपूर्ण प्रभाव पारेको थियो। आन्दोलनपछि भएको आमनिर्वाचनमार्फत रहमान प्रधानमन्त्री बन्न सफल भएका हुन्।

सम्बन्धित समाचारसबै