कोशी प्रदेशमा रास्वपाको दबदबा, श्रम संस्कृति पार्टीको अप्रत्याशित सफलता

0 Shares

विराटनगर। प्रतिनिधिसभा निर्वाचन २०८२ को परिणामले कोशी प्रदेशको राजनीतिक चित्र नै फेरिएको छ। दशकौँदेखि नेपाली कांग्रेस र नेकपा एमालेको बलियो प्रभाव रहेको मानिने यस प्रदेशमा यसपटक नयाँ शक्तिको उदय देखिएको छ। निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेशको सबैभन्दा ठूलो शक्ति बनेको छ भने परम्परागत दलहरू उल्लेखनीय रूपमा कमजोर देखिएका छन्।

कोशी प्रदेशका १४ जिल्लामा रहेका २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये रास्वपाले १७ सिट जित्दै अग्रस्थान हासिल गरेको छ। नेपाली कांग्रेस र नेकपा एमालेले भने समान ४\४ सिटमा मात्र सीमित हुनुपरेको छ। त्यस्तै हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीले ३ क्षेत्रमा अप्रत्याशित सफलता हासिल गरेको छ।

२०७९ सालको निर्वाचनमा कोशी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो शक्ति थियो। एमालेले १३ सिट जितेको थियो भने नेपाली कांग्रेसले ९ सिट हात पारेको थियो। त्यतिबेला नेकपाले ३ सिट जित्दा जसपा नेपाल, राप्रपा र एक स्वतन्त्र उम्मेदवारले १\१ सिट जितेका थिए।

तर २०८२ को निर्वाचनमा त्यो समीकरण पूर्ण रूपमा उल्टिएको देखियो। अघिल्लो निर्वाचनमा निर्णायक शक्ति मानिएको नेकपा यसपटक एक क्षेत्र बाहेक अन्यत्र उल्लेखनीय प्रतिस्पर्धा समेत गर्न सकेन।

यसपटकको निर्वाचनको सबैभन्दा चर्चित परिणाम झापा क्षेत्र नम्बर ५ बाट आएको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रास्वपाका उम्मेदवार बालेन्द्र शाह (बालेन)सँग भारी मतान्तरले पराजित भएका छन्। शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत मात्र पाए।

झापाका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाले जित निकाल्दै ‘क्लिन स्वीप’ गरेको छ। झापा–१ बाट निशा डाँगी, झापा–२ बाट इन्दिरा राना, झापा–३ बाट प्रकाश पाठक, झापा–४ बाट शम्भु प्रसाद ढकाल तथा झापा–५ बाट बालेन्द्र शाह निर्वाचित भएका छन्।

मोरङमा पनि रास्वपाले प्रभावशाली प्रदर्शन गरेको छ। मोरङ–६ मा कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला रास्वपाकी रुविना आचार्यसँग पराजित भए। आचार्यले ५५ हजार ५१३ मत ल्याउँदा कोइरालाले १२ हजार ८५० मत मात्र प्राप्त गरे।

मोरङका अन्य क्षेत्रमा पनि रास्वपाले लगातार जित हासिल गरेको छ। मोरङ–१ बाट यज्ञमणि न्यौपाने, मोरङ–२ बाट कृष्ण कार्की, मोरङ–३ बाट गणेश कार्की, मोरङ–४ बाट सन्तोष राजवंशी र मोरङ–५ बाट आशा झा निर्वाचित भएका छन्।

सुनसरीमा पनि चुनावी प्रतिस्पर्धा रोचक बनेको थियो। यहाँ रास्वपाले तीन सिट जित्दा श्रम संस्कृति पार्टीले एउटा सिट हात पारेको छ।

सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ३५ हजार ७४१ मतसहित विजयी भए। उनले रास्वपाकी गोमा तामाङलाई पराजित गरेका हुन्।

यसैगरी सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र सुनसरी–३ मा विजयकुमार गच्छदार जस्ता पुराना तथा प्रभावशाली नेताहरू रास्वपाका उम्मेदवारसँग पराजित भए। सुनसरी–२ बाट लालबिक्रम थापा विजयी भए।

पहाडी जिल्लामा पनि श्रम संस्कृति पार्टीले उल्लेखनीय सफलता हासिल गरेको छ। भोजपुरमा ध्रुवराज राईले पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गरे भने खोटाङमा आरेन राई विजयी भए।

यसपटक पुराना दलहरूले केही पहाडी तथा हिमाली जिल्लामा मात्र आफ्नो साख जोगाउन सकेका छन्।

इलाम क्षेत्र नम्बर १ मा कांग्रेसका निस्कल राई विजयी भए भने इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भए। पाँचथरमा कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी भएका छन्।

धनकुटामा एमालेका राजेन्द्र राईले आफ्नो सिट जोगाउन सफल भए भने ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी भए। तेह्रथुम र सोलुखुम्बुमा कांग्रेसका सन्तोष सुब्बा र प्रकाशसिंह कार्की निर्वाचित भएका छन्। संखुवासभामा एमालेका अर्जुनकुमार कार्की विजयी भए।

उदयपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ। उदयपुर–१ बाट पारशमणि गेलाल ३० हजार ५९० मतसहित विजयी भए भने उदयपुर–२ मा सूर्यबहादुर तामाङ निर्वाचित भए। ओखलढुंगामा पूर्वप्रहरी एआइजी विश्वराज पोखरेलले कांग्रेसका कुमार लुइँटेललाई ५ मतको झिनो अन्तरले पराजित गर्दै जित हात पारे।

२०८२ को निर्वाचन परिणामले कोशी प्रदेशको राजनीतिक प्रवृत्तिमा ठूलो परिवर्तन देखिएको विश्लेषकहरूको भनाइ छ। विकास, सुशासन र नयाँ नेतृत्वप्रति मतदाताको झुकाव बढ्दै जाँदा परम्परागत दलका प्रभावशाली नेताहरू समेत आफ्नै निर्वाचन क्षेत्रमा सुरक्षित रहन नसकेको परिणामले देखाएको छ।

सम्बन्धित समाचारसबै