चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले आफ्नो चुनावी खर्चको विवरण जिल्ला निर्वाचन कार्यालय चितवनमा बुझाएका छन्।
लामिछानेले मंगलबार निर्वाचन आयोगको प्रावधानअनुसार आफ्नो चुनावी खर्च विवरण औपचारिक रूपमा पेस गरेका हुन्। उनले बुझाएको विवरणअनुसार निर्वाचन अभियानका क्रममा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
खर्च विवरणअनुसार मनोनयन दर्ताका क्रममा १० हजार रुपैयाँ खर्च भएको छ। त्यस्तै नमुना मतपत्र तथा प्रचार सामग्री छपाइमा ६८ हजार १६१ रुपैयाँ खर्च गरिएको उल्लेख छ।
यातायात तथा इन्धनतर्फ सबैभन्दा धेरै २ लाख ९५ हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ। मतदाता प्रशिक्षणका क्रममा खाजातर्फ १४ हजार २०० रुपैयाँ खर्च गरिएको छ भने वडास्तरीय प्रचारप्रसारका गतिविधिमा ४६ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
त्यसैगरी खाद्यान्न तथा रासन खरिदमा १ लाख २६ हजार रुपैयाँ खर्च भएको विवरणमा देखाइएको छ। हवाई यात्रातर्फ १३ हजार ६२६ रुपैयाँ खर्च गरिएको छ भने विभिन्न गोष्ठी तथा भेलाको आयोजनामा १ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएको निश्चित समयभित्र आफ्नो चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ। सोही प्रावधानअनुसार लामिछानेले पनि आफ्नो खर्च विवरण बुझाएका हुन्। 