काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। दुबईका अधिकारीहरूले यात्रु र विमानस्थलमा कार्यरत कर्मचारीको सुरक्षा सुनिश्चित गर्न सावधानीस्वरूप सबै उडानहरू अस्थायी रूपमा स्थगित गरिएको जानकारी दिएका छन्।
अधिकारीहरूका अनुसार विमानस्थल नजिकै भएको ड्रोन आक्रमणका कारण सुरक्षा जोखिम बढेपछि यस्तो निर्णय लिनुपरेको हो। यसअघि विमानस्थल नजिकै लागेको आगो नियन्त्रणका लागि आपत्कालीन सेवाका टोलीहरू परिचालन गरिएको थियो। दुबई सञ्चार कार्यालयका अनुसार सोमबार भएको ड्रोन आक्रमणका कारण विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको थियो। आगलागीपछि सुरक्षालाई ध्यानमा राख्दै उडानहरू रोकिएको जनाइएको छ।
यस घटनापछि विमानस्थल आसपासको क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने आगलागी नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको बताइएको छ। यात्रुहरूलाई आफ्नो उडानसम्बन्धी जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनी र विमानस्थलको आधिकारिक सूचनामार्फत अद्यावधिक जानकारी लिन आग्रह गरिएको छ।
दुबई अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय हवाई अड्डामध्ये एक मानिन्छ। बेलायती प्रसारण संस्था बीबीसीका अनुसार सन् २०२५ मा मात्र यस विमानस्थलमार्फत करिब नौ करोड यात्रुले यात्रा गरेका थिए।
खाडी क्षेत्रमा बढ्दो सैन्य तनावका कारण यस्तो घटना भएको विश्लेषण गरिएको छ। फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वपछि क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र बनेका छन्। त्यसयता खाडीका विभिन्न अरब मुलुकहरूले दुई हजारभन्दा बढी क्षेप्यास्त्र र ड्रोन आक्रमणको सामना गरिसकेको बताइएको छ।
यी आक्रमणहरूको लक्ष्य केवल अमेरिकी कूटनीतिक नियोग वा सैन्य अड्डामात्र नभई तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनहरू समेत बनेका छन्।
सन् २०२० मा संयुक्त अरब इमिरेट्सले इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्यीकरण गरेपछि क्षेत्रीय राजनीतिक तनावका बीच संयुक्त अरब इमिरेट्समाथि यस्ता आक्रमणको प्रभाव बढी परेको बताइन्छ। यद्यपि खाडी क्षेत्रका अन्य अरब मुलुकहरू पनि यस्ता आक्रमणबाट प्रभावित भएका छन् र अधिकांशले इरानको भूमिकाको आलोचना गर्दै आएका छन्।
यस घटनाले खाडी क्षेत्रको सुरक्षा अवस्था थप संवेदनशील बनेको विश्लेषण गरिएको छ। विमानस्थल पुनः सञ्चालनबारे निर्णय भने सुरक्षा अवस्थाको मूल्याङ्कनपछि मात्रै गरिने अधिकारीहरूले बताएका छन्।