अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताहरूका लागि सञ्चालन गरिएको एक ठूलो अस्पतालमा भएको भीषण हवाई आक्रमणमा कम्तीमा ४०० जनाको मृत्यु भएको छ भने करिब २५० जना घाइते भएका छन्।
अफगान सरकारी अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार राति करिब ९ बजे भएको आक्रमणले दुई हजार शय्या क्षमताको उक्त अस्पतालको ठूलो भाग पूर्णरूपमा ध्वस्त बनाएको छ। घटनापछि उद्धार टोलीहरू भग्नावशेष हटाउँदै घाइतेहरूको खोजी तथा आगो नियन्त्रणमा खटिएका छन्।
अफगान सरकारका उपप्रवक्ता हमदुल्लाह फित्रतले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै हवाई आक्रमणले अस्पतालको संरचनामा व्यापक क्षति पुर्याएको र मृत्यु हुनेको संख्या ४०० पुगेको बताए। उनका अनुसार करिब २५० जना घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको छ।
स्थानीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका दृश्यहरूमा सुरक्षाकर्मीहरू टर्चलाइटको सहायताले भग्नावशेषबाट घाइते र मृतकलाई बाहिर निकालिरहेका तथा अग्निनियन्त्रकहरू आगो निभाउन संघर्ष गरिरहेको देखिएको छ।
यस घटनाप्रति प्रतिक्रिया दिँदै अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आक्रमणको कडा निन्दा गर्दै पाकिस्तानमाथि नागरिक संरचना र अस्पताललाई लक्षित गरी ‘आतंक मच्चाएको’ आरोप लगाएका छन्। उनले यस्तो कार्य मानवताविरुद्धको अपराध भएको टिप्पणी गरेका छन्।
तर पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफका प्रवक्ता मोसर्रफ जैदीले भने अफगानिस्तानले लगाएको आरोप अस्वीकार गरेका छन्। पाकिस्तानले काबुलमा कुनै अस्पताललाई लक्षित गरी आक्रमण नगरेको दाबी गर्दै उक्त कारबाही आतंकवादी संरचनामाथि मात्र केन्द्रित रहेको जनाएको छ।
पाकिस्तानी पक्षका अनुसार काबुल र नान्गहार क्षेत्रमा गरिएको हवाई आक्रमण अफगान तालिबानसँग सम्बन्धित र पाकिस्तानविरुद्ध गतिविधि सञ्चालन गरिरहेका सशस्त्र समूहका आधारस्थलहरूलाई लक्षित गरिएको थियो।
पछिल्ला हप्ताहरूमा अफगानिस्तान र पाकिस्तानबीच सीमा क्षेत्रमा तनाव बढ्दै गएको छ। गत महिनाको अन्त्यतिर सुरु भएको द्वन्द्व अहिले तेस्रो हप्तामा प्रवेश गरेको छ। केही घण्टा अघि सीमावर्ती क्षेत्रमा भएको गोली हानाहानमा अफगानिस्तानतर्फ चार जनाको मृत्यु भएको बताइएको छ।
अन्तर्राष्ट्रिय समुदायले दुवै देशलाई संयमता अपनाउन र तत्काल युद्धविराम गर्न आह्वान गर्दै आएको भए पनि हालसम्म तनाव कम हुने संकेत देखिएको छैन।-न्यूज एजेन्सि