काठमाडौं । इरानका सेना प्रमुख अमीर हातामीले इजरायलद्वारा गरिएको भनिएको हवाई आक्रमणमा मारिएका अली लारिजानीको हत्याको कडा प्रतिवाद गर्दै ‘निर्णायक बदला’ लिने चेतावनी दिएका छन्।
मंगलबार एक वक्तव्य जारी गर्दै हातामीले इरानको सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिव लारिजानीसहित मारिएका अन्य व्यक्तिहरूलाई ‘सहिद’को संज्ञा दिँदै उनीहरूको मृत्यु व्यर्थ नजाने बताएका हुन्। उनले भने, “सही समय र सही स्थानमा हामी अपराधी अमेरिका र रक्तपिपासु जियोनिस्ट शासनलाई यस्तो जवाफ दिनेछौं, जुन अरूका लागि पनि चेतावनी बन्नेछ। उनीहरूलाई आफ्ना कार्यप्रति पछुतो हुनेछ।”
इरानले मंगलबार नै लारिजानीको मृत्युको औपचारिक पुष्टि गरेको थियो। यसअघि इजरायलले उक्त आक्रमणमा लारिजानी मारिएको दाबी गरेको थियो, तर त्यसबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार, इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर (आईआरजीसी) ले लारिजानीको मृत्युको बदलास्वरूप मध्य इजरायलतर्फ लक्षित गरी मिसाइल प्रहार गरिसकेको जनाएको छ। आईआरजीसी इरानको नियमित सेनाभन्दा अलग्गै शक्तिशाली सैन्य संगठन हो, जसले देशको सुरक्षा र रणनीतिक अपरेसनहरूमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
यस घटनापछि मध्यपूर्वमा तनाव थप चर्किने संकेत देखिएको छ। इरान र इजरायलबीचको पुरानो द्वन्द्व फेरि उत्कर्षमा पुग्ने चिन्ता अन्तर्राष्ट्रिय समुदायले व्यक्त गर्न थालेको छ।