कांग्रेसको समानुपातिक सांसद छनोट विवाद अदालतसम्म

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसको समानुपातिकतर्फ सांसद छनोटको विषय विवादमा परेको छ। पार्टीले गरेको छनोटप्रति असन्तुष्टि जनाउँदै सम्बन्धित पक्ष अदालत जाने तयारीमा पुगेका छन्।

पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्था भए पनि उक्त कोटा कटौती गरेर अन्य क्षेत्रका उम्मेदवारलाई प्राथमिकता दिइएको आरोप लागेको छ। यस विषयमा असन्तुष्ट उम्मेदवारहरूले यसअघि नै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका थिए।

उजुरी निर्वाचन आयोगको राजनीतिक दल तथा कानुन शाखामा दर्ता भए पनि त्यसबारे कुनै छलफल नभएको गुनासो गरिएको छ। आयोगले निर्णय भइसकेको भन्दै थप प्रक्रिया अघि नबढाउने संकेत दिएको र उजुरीकर्ताहरूलाई अदालत जान सुझाव दिएको स्रोतले जनाएको छ।

यसैबीच, असन्तुष्ट पक्ष अदालत जाने तयारीमा रहेको एक उम्मेदवारले जानकारी दिएका छन्। उनीहरूले आफ्नो अधिकार सुनिश्चित गर्न कानुनी बाटो रोज्न लागेको बताएका छन्।

पार्टीभित्रको आन्तरिक समीकरणका कारण पनि यो विवाद उत्पन्न भएको बताइएको छ। पिछडिएको क्षेत्रबाट प्रतिनिधि छनोट गर्दा पार्टीभित्रका शक्ति सन्तुलनमा असर पर्ने भएकाले अन्य उम्मेदवारलाई प्राथमिकता दिइएको आरोप छ।

यस क्रममा कालीकोटका कालीबहादुर सहकारीलाई समानुपातिक सांसदका रूपमा सिफारिस गरिएको छ। उनलाई विशेष महाधिवेशनमा गरेको सहयोगका आधारमा प्राथमिकता दिइएको बताइएको छ।

यो घटनाले नेपाली कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि सतहमा ल्याउनुका साथै समानुपातिक प्रणालीको कार्यान्वयनमाथि समेत प्रश्न उठाएको छ।

सम्बन्धित समाचारसबै