विशेष महाधिवेशनले जोगायो कांग्रेस: अर्जुननरसिंह केसी

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले विशेष महाधिवेशन नगरी निर्वाचनमा गएको भए पार्टीको अवस्था अहिलेभन्दा अझ कमजोर हुने दाबी गरेका छन्।

शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै केसीले विशेष महाधिवेशनकै कारण कांग्रेसले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गर्न सकेको बताए।

उनका अनुसार विशेष महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा दिने काम गरेको थियो। “विशेष अधिवेशनले नयाँ नेतृत्व, नयाँ नीति र नयाँ दृष्टिकोण नदिएको, परिवर्तित समय र जेन–जी आन्दोलन सम्बोधन नगरेर गएको भए परिणाम अहिलेभन्दा झन कमजोर हुन्थ्यो,” केसीले भने, “विशेष महाधिवेशनले आम कार्यकर्ताबीच उत्साहका साथ जाने वातावरण बनायो, त्यसैले हामी दोस्रो भयौँ।”

उनले पार्टीभित्र दोषारोपण गर्नेभन्दा सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। कांग्रेसभित्र देखिएको मतभेद अन्त्य गरी एकताबद्ध वातावरण सिर्जना गर्न केन्द्रीय समितिले सक्रिय भूमिका खेल्नुपर्ने उनको सुझाव छ।

अर्को प्रसंगमा केसीले आफू संसदीय दलको नेतामा रहोस् वा नरहोस्, पार्टी र देशको हितमा निरन्तर आवाज उठाइरहने स्पष्ट पारे। उनले व्यक्तिगत पदभन्दा पार्टी र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने आफ्नो अडान यथावत रहने बताए।

सम्बन्धित समाचारसबै