चैती छठ पर्व सुरु, मिथिलाञ्चलमा भक्तजनको घुइँचो

0 Shares

जलेश्वर, ८ चैत । महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आजदेखि चैती छठ पर्व विधिवत रूपमा सुरु भएको छ। चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन ‘नहाय–खाय’ का साथ धार्मिक विधि प्रारम्भ गरिएको हो।

महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लामा छठको विशेष चहलपहल देखिएको छ। जलेश्वर, मटिहानी, गौशाला, सम्सी, बर्दिबासलगायत क्षेत्रमा रहेका पोखरी, तलाउ तथा बिग्ही, रातो मरहा, जङ्गहा, अंकुसी नदी किनारमा भक्तजनको भीड लाग्न थालेको छ।

जलेश्वर–१ स्थित बाबा जलेश्वरनाथ महादेवका पुजारी कामेश्वर पाठकका अनुसार छठ पर्वले सत्य, अहिंसा र सबै जीवप्रति करुणा राख्ने सन्देश दिन्छ। सूर्य उपासनामा आधारित यस पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गर्ने विशेष परम्परा रहेको छ।

पर्वअन्तर्गत दोस्रो दिन ‘खर्ना’, तेस्रो दिन सन्ध्याकालीन अर्घ र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुने गर्दछ। व्रतीहरूले पारिवारिक सुख, शान्ति, समृद्धि तथा स्वास्थ्यको कामना गर्दै श्रद्धापूर्वक पूजा गर्ने गर्छन्।

धार्मिक ग्रन्थ महाभारत र सूर्य पुराण मा उल्लेख भएअनुसार प्राचीनकालदेखि चलिआएको यो परम्परा आज सामाजिक सद्भावको प्रतीकका रूपमा विकसित भएको छ। हिन्दूसँगै अन्य समुदायका मानिसहरूले पनि यो पर्व मनाउने गरेका छन्।

यस पर्वमा विभिन्न परिकार र फलफूल चढाउने परम्परा भए पनि सामान्य आस्थाका साथ गरिने पूजा पनि उत्तिकै फलदायी हुने जनविश्वास रहेको छ।

सम्बन्धित समाचारसबै