‘एसिड रेन’ त्रासबीच खाडीमा रहेका नेपालीको स्वास्थ्य अवस्था के छ?

0 Shares

काठमाडौं । इरान ले खाडी क्षेत्रका तेल भण्डार, प्रशोधन केन्द्र तथा ऊर्जा संरचनामा आक्रमण गरेपछि त्यहाँ कार्यरत नेपालीहरूको स्वास्थ्य सुरक्षाबारे चिन्ता बढेको छ। आक्रमणपछि वातावरणमा फैलिएको धुवाँ र प्रदूषणका कारण ‘कालो वर्षा’ भएको खबर सार्वजनिक भएसँगै स्वास्थ्य जोखिमको चर्चा चुलिएको हो।

इजरायल र संयुक्त राज्य अमेरिका सँगको तनावपछि इरानमा देखिएको कालो वर्षाले स्थानीय बासिन्दामा आँखा पोल्ने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएको बताइएको छ। स्वास्थ्य विज्ञहरूले यस्तो प्रदूषणले दीर्घकालीन असर पार्न सक्ने चेतावनी दिएका छन्।

यद्यपि खाडी मुलुकहरूले भने हालसम्म त्यहाँको हावाको गुणस्तर सामान्य सीमाभित्रै रहेको र व्यापक स्वास्थ्य समस्या नदेखिएको जनाएका छन्। परराष्ट्र मन्त्रालय का अनुसार अहिलेसम्म युद्धजन्य प्रदूषणका कारण खाडीमा रहेका नेपालीहरूको स्वास्थ्यमा गम्भीर असर परेको जानकारी प्राप्त भएको छैन।

मन्त्रालयले एयर क्वालिटी र रेडियसनको स्तर पनि सुरक्षित दायराभित्र रहेको जनाएको छ। तथापि, युद्ध जारी रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

विश्व स्वास्थ्य संगठन ले तेल प्रशोधन केन्द्रहरूमा भएका आक्रमणले वायु प्रदूषण अत्यधिक बढाउन सक्ने र त्यसबाट स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चेतावनी दिइसकेको छ। यस्तो अवस्थामा सल्फर डाइअक्साइड र नाइट्रोजन अक्साइडजस्ता हानिकारक ग्यासहरू उत्सर्जन भई वर्षासँग मिसिँदा ‘अम्ल वर्षा’ (एसिड रेन) हुने जोखिम रहन्छ।

यसका साथै हानिकारक हाइड्रोकार्बन, धातुजन्य यौगिक तथा तेलका साना कणहरू वातावरणमा फैलिन सक्ने भएकाले सास फेर्न गाह्रो हुने, दम बढ्ने, आँखा पोल्ने, टाउको दुख्ने र कमजोरी महसुस हुनेजस्ता समस्या देखिन सक्छन्।

त्यसैले सम्बन्धित निकायहरूले सावधानी अपनाउन आग्रह गर्दै मास्क प्रयोग गर्ने, झ्यालढोका बन्द राख्ने, एयर प्युरिफायर प्रयोग गर्ने, बाहिरबाट आएपछि सरसफाइमा ध्यान दिने र प्रशस्त पानी पिउने सुझाव दिएका छन्।

सम्बन्धित समाचारसबै