११ चैत, काठमाडौं । पाँच दिन लगातार बढेको सेयर बजार बुधबार घटेको छ । आज नेप्से सूचक २४.४५ अंकले घटेर २९३५ अंकमा झरेको छ । अघिल्लो दिन भने नेप्से २३.८३ अंकले बढेको थियो ।
बजार घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन १४ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएकोमा आज १५ अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज ४५ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज व्यापार समूह सबैभन्दा धेरै ३.४५ प्रतिशतले बढ्यो । विशाल बजार कम्पनीको सेयर मूल्य ३.७७ प्रतिशत बढेपछि यो समूह माथि गएको हो । उत्पादन तथा प्रशोधन समूह पनि ०.४८ प्रतिशतले बढेको छ ।
तर अन्य सबै समूह घटेका छन् । बैंकिङ १.४० प्रतिशत, विकास बैंक २.३२ प्रतिशत, फाइनान्स २.०९ प्रतिशत, होटल तथा पर्यटन ०.०५ प्रतिशत, हाइड्रोपावर ०.१६ प्रतिशत, लगानी ०.५३ प्रतिशत, जीवन बीमा १.३९ प्रतिशत, माइक्रोफाइनान्स १.६४ प्रतिशत, निर्जीवन बीमा १.१५ प्रतिशत र अन्य समूह १.७० प्रतिशतले घटेका छन् ।
आज ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनका लगानीकर्ताले राम्रो कमाएका छन् । पञ्चकन्या माइ हाइड्रोपावरको मूल्य पनि ९.७ प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै घट्नेमा अभियान लघुवित्त रहेको छ, जसको मूल्य ७.७४ प्रतिशतले घटेको छ । सालपा विकास बैंक ६.९९ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट ६.७१ प्रतिशत र सिन्धु विकास बैंक ६.०९ प्रतिशतले घटेका छन् ।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा ङादी ग्रुप, अपी पावर, शिवम् सिमेन्ट, सुपर मादी हाइड्रोपावर र एसवाई प्यानल रहेका छन् ।