पश्चिम एसियामा युद्धको भीषणता बढ्दो, मृतक संख्या ५ हजार नाघ्यो

0 Shares

अमेरिका र इजरायलसँग जारी द्वन्द्वका कारण इरानसहित पश्चिम एसियामा मानवीय क्षति तीव्र रूपमा बढ्दै गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र मानवअधिकार संस्थाहरूका अनुसार यस युद्धमा ज्यान गुमाउनेको संख्या ५ हजारभन्दा बढी पुगेको छ।

सबैभन्दा ठूलो क्षति इरानमा भएको छ, जहाँ हालसम्म ३ हजार ५ सय १९ जनाको मृत्यु भइसकेको जनाइएको छ। मृतकमध्ये सर्वसाधारण र बालबालिकाको संख्या उल्लेखनीय रहेको छ।

मानवअधिकार समूहहरूका अनुसार सयौं बालबालिका यस द्वन्द्वको सिकार बनेका छन् भने हजारौं मानिस घाइते भएका छन्। उद्धार तथा स्वास्थ्य संस्थाहरूले करिब १९ हजारभन्दा बढी घाइते भएको अनुमान गरेका छन्।

द्वन्द्वको प्रभाव छिमेकी मुलुकहरूमा पनि फैलिएको छ। लेबनानमा इजरायली आक्रमणका कारण १ हजार ३ सय १८ जनाले ज्यान गुमाएका छन्, जसमा बालबालिका र लडाकु दुवै समावेश छन्। त्यहाँ हिजबुल्लाहका सयौं सदस्य मारिएका छन् भने सैनिक तथा संयुक्त राष्ट्रसंघका शान्ति सेनाले समेत ज्यान गुमाएका छन्।

इराकमा पनि अवस्था तनावपूर्ण बनेको छ। इरान समर्थित मिलिसिया र अन्य समूहबीचको झडपमा १०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। यता, इरान र लेबनानबाट प्रहार गरिएका क्षेप्यास्त्रका कारण इजरायलमा पनि १९ जनाको ज्यान गएको छ।

युद्धमा संलग्न अमेरिकाले आफ्ना केही सैनिक गुमाएको पुष्टि गरेको छ भने खाडी क्षेत्रका अन्य देशहरूमा पनि छिटफुट मृत्युका घटना भइरहेका छन्।

अन्तर्राष्ट्रिय समुदायले बढ्दो मानवीय क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल युद्धविरामको माग गरिरहेको छ। यद्यपि, क्षेत्रीय अवस्था अझै तनावपूर्ण नै रहेको छ। – एजेन्सी

सम्बन्धित समाचारसबै