चितवनमा जापानिज इन्सेफलाइटिस विरुद्ध खोप अभियान सुरु हुँदै

0 Shares

चितवन । जिल्लामा यही चैत २५ गतेदेखि ‘जापानिज इन्सेफलाइटिस’विरुद्धको खोप अभियान सुरु गरिने भएको छ । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यो अभियान चैत ३० गतेसम्म सञ्चालन हुनेछ।

अभियानअन्तर्गत माडी नगरपालिकामा १८ हजार ८११ जना र भरतपुर महानगरपालिका–१९ मा चार हजार २०४ जनालाई खोप लगाइने लक्ष्य राखिएको छ। जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार खोप लगाउन नपाएका ३० वर्षमाथिका व्यक्तिहरू तथा खोपबाट छुटेका १५ वर्षमुनिका बालबालिकालाई प्राथमिकतामा राखिएको छ।

जापानिज इन्सेफलाइटिस एक किटजन्य सरुवा रोग हो, जुन क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ। यो लामखुट्टे प्रायः घर बाहिर बस्ने, बाहिरै टोक्ने र विशेष गरी साँझ तथा बिहान बढी सक्रिय हुने गर्दछ।

किट नियन्त्रण अधिकृत राम केसीका अनुसार यो रोग सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपन्छीमा रहेको भाइरसबाट लामखुट्टेमार्फत मानिसमा सर्ने गर्छ। विशेषगरी धानखेती हुने क्षेत्रहरूमा यस्ता लामखुट्टेले अण्डा पार्ने र लार्भा विकास गर्ने भएकाले जोखिम अझ बढ्ने गरेको छ।

चितवनमा पछिल्ला वर्षहरूमा यो रोगको प्रभाव बढ्दै गएको देखिएको छ। सन् २०२४ मा एक जनाको मृत्यु र चार जनामा संक्रमण पुष्टि भएको थियो भने सन् २०२५ मा १६ जना संक्रमित हुँदा पाँच जनाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ।

स्वास्थ्य अधिकारीहरूले समयमै खोप लगाउन, लामखुट्टेको टोकाइबाट जोगिन झुल प्रयोग गर्न, वरपर सफा राख्न तथा पानी जम्न नदिन आग्रह गरेका छन्। अभियान सफल बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी र सर्वसाधारणको सहकार्य आवश्यक रहेको जनाइएको छ।

सम्बन्धित समाचारसबै