इरानले आफूविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायल बाट सैन्य आक्रमण तीव्र भए विश्वव्यापी ऊर्जा तथा व्यापार आपूर्ति मार्गहरू अवरुद्ध गर्ने कडा चेतावनी दिएको छ ।
अल जजीरा का अनुसार आयातुल्लाह अली खामेनी का वरिष्ठ सल्लाहकार अली अकबर वेलायाती ले यस्तो चेतावनी दिएका हुन् । उनले इरानले केवल सैन्य प्रतिकारमै सीमित नरही विश्व अर्थतन्त्रलाई प्रत्यक्ष असर पार्ने रणनीतिक कदम चाल्न सक्ने बताएका छन् ।
वेलायातीका अनुसार इरानले महत्त्वपूर्ण अन्तर्राष्ट्रिय समुद्री मार्गहरूलाई लक्षित गर्न सक्ने सम्भावना रहेको छ । विशेषगरी होर्मुज जलडमरू र बाब एल मन्देब जलमार्ग जस्ता अत्यन्त संवेदनशील जलमार्गहरू अवरोधको सम्भावित क्षेत्रका रूपमा उल्लेख गरिएको छ । यी समुद्री मार्गहरू विश्वको कच्चा तेल आपूर्ति र अन्तर्राष्ट्रिय व्यापार ढुवानीका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन् ।
विशेषज्ञहरूका अनुसार होर्मुज जलडमरूबाट मात्रै विश्वको ठूलो भाग तेल आपूर्ति हुने गर्दछ । त्यसैले यो मार्ग अवरुद्ध भए विश्व बजारमा तेलको मूल्य आकस्मिक रूपमा बढ्न सक्ने, ढुवानी लागत महँगो हुने र विश्वव्यापी व्यापार सञ्जालमा गम्भीर अवरोध सिर्जना हुन सक्ने विश्लेषण गरिएको छ ।
इरानको यो चेतावनीलाई मध्यपूर्व क्षेत्रमा बढ्दो तनावको संकेतका रूपमा हेरिएको छ । पछिल्लो समय मध्यपूर्वमा बढ्दो सैन्य गतिविधि, राजनीतिक असमझदारी र रणनीतिक प्रतिस्पर्धाबीच यस्तो अभिव्यक्तिले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा थप अनिश्चितता बढाउने अनुमान गरिएको छ ।
विश्लेषकहरूका अनुसार यदि यी महत्वपूर्ण समुद्री मार्गहरू अवरुद्ध भएमा विश्वव्यापी तेल आपूर्ति प्रणाली प्रभावित हुने, ढुवानी खर्च बढ्ने र विश्व अर्थतन्त्रमा दबाब सिर्जना हुने सम्भावना रहेको छ ।
हालसम्म यस विषयमा संयुक्त राज्य अमेरिका र इजरायल ले औपचारिक प्रतिक्रिया दिएका छैनन् । तर इरानको यस्तो चेतावनीले अन्तर्राष्ट्रिय समुदायको ध्यान मध्यपूर्वको बढ्दो तनावतर्फ केन्द्रित गराएको छ ।