काठमाडौं । स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपराष्ट्रपति यादवलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर मा भर्ना गरिएको छ।
गएराति रक्तचाप अचानक बढेर छातीमा असहज महसुस भएपछि उनलाई उपचारका लागि सेन्टर लगिएको थियो। त्यहाँ पुर्याएलगत्तै चिकित्सकहरूको टोलीले भर्ना गरेर उपचार सुरु गरेको जनाएको छ।
सेन्टरका निर्देशक तथा मुटुरोग विशेषज्ञ डा. रत्नमणि गजुरेल का अनुसार उपराष्ट्रपतिलाई राति नै असहज महसुस भएपछि अस्पताल ल्याइएको हो। “रक्तचाप बढेर समस्या देखिएपछि उहाँ आउनुभएको हो। अहिले भर्ना गरेर उपचार भइरहेको छ, स्वास्थ्य अवस्था सुधारोन्मुख छ, केही रिपोर्टहरू आउन बाँकी छन्,” उनले बताए।
हाल उपराष्ट्रपति यादवको उपचारमा मुटुरोग विशेषज्ञ गजुरेलसहित सोही परिसरमा रहेको त्रिवि शिक्षण अस्पताल का पेटरोग विशेषज्ञहरूको टोली संलग्न रहेको छ।
अस्पतालले उपराष्ट्रपतिलाई सेन्टरको भीआईपी क्याबिन ७०१ मा राखेर निगरानीसहित उपचार भइरहेको जनाएको छ।