तमिल टेलिभिजनकी चर्चित अभिनेत्री सुभाषिनी सुब्रमण्यमको अकल्पनीय निधन

0 Shares

दक्षिण भारतीय टेलिभिजन र चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सुभाषिनी सुब्रमण्यम को ३६ वर्षको उमेरमा निधन भएको छ। उनको शव चेन्नईको इयप्पंथंगलस्थित भाडाको फ्ल्याटमा फेला परेको हो।

प्रारम्भिक रिपोर्ट अनुसार सुभाषिनी केही समयदेखि डिप्रेशनको सामना गरिरहेकी थिइन्। भारतीय सञ्चारमाध्यमका अनुसार, उनको मृत्यु हुनु अघि मात्र उनी र उनका श्रीमान् बिपिन चन्द्रनबीच भिडियो कलमा तीव्र झगडा भएको थियो।

श्रीलंकाली मूलकी सुभाषिनीले सन् २०२४ मा बिपिनसँग विवाह गरेकी थिइन्। पछिल्लो समय दुवै बीचको खटपट बढेसँगै उनीहरू अलग बस्दै आएका थिए। अप्रिल ६ का दिन सुभाषिनीले आफ्ना पति बिपिनसँग भिडियो कलमा ठुलो विवाद गरिन्। सोही झगडापछि आवेगमा आएर आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। तथापि, प्रहरीले मृत्युको वास्तविक कारण पत्ता लगाउन शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ।

सुभाषिनीले सन् २०१२ मा ‘इनी अवन’ फिल्मबाट अभिनय यात्रा सुरु गरेकी थिइन्। उनी तमिल टेलिभिजन उद्योगमा आफ्नो छुट्टै पहिचान बनाएकी थिइन्। उनलाई विशेष गरी चर्चित सिरियल ‘कायल’ मा निभाएको दीपिकाको भूमिकाले दर्शकमाझ लोकप्रिय बनाएको थियो। यसका साथै उनले ‘इल्लाम मेला इरुकुरवन पाथुप्पन’ र वेब जस्ता फिल्महरूमा समेत अभिनय गरेकी थिइन्।

अदाकारा मृत्युभन्दा दुई दिनअघि मात्रै सामाजिक सञ्जालमा जीवनको सारबारे एक भावुक पोस्ट गरेकी थिइन्। तमिल कला क्षेत्रमा स्थापित हुन श्रीलंका छोडेर चेन्नई आएकी एक प्रतिभाशाली अभिनेत्रीको अचानक निधनले दक्षिण भारतीय मनोरञ्जन क्षेत्र स्तब्ध बनाएको छ।

सम्बन्धित समाचारसबै