विराटनगर । कानुन विषय अध्ययन गर्न चाहने विराटनगरका विद्यार्थीहरूका लागि खुसीको खबर आएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत कानुन सङ्कायले शैक्षिक सत्र २०८२/०८३ देखि विराटनगरस्थित डिग्री क्याम्पसमा तीन वर्षे एलएलबी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
यसअघि विराटनगरमा कानुन विषयको अध्ययन पूर्वाञ्चल विश्वविद्यालयमार्फत मात्र हुँदै आएको थियो । अब भने त्रिविले पनि सोही सहरमा एलएलबी कार्यक्रम विस्तार गरेपछि विद्यार्थीहरूका लागि अध्ययनको विकल्प थपिएको छ ।
त्रिवि कानुन सङ्काय, डीनको कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार शैक्षिक कार्यक्रम विस्तार गरिएका क्याम्पसहरूको सूचीमा विराटनगरको डिग्री क्याम्पसलाई समेत समावेश गरिएको हो । उक्त क्याम्पसमा एलएलबी तहका लागि ३०० सिट निर्धारण गरिएको छ, जसले ठूलो संख्यामा विद्यार्थीलाई अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यसैबीच, त्रिभुवन विश्वविद्यालयले देशभरका आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कुल ३ हजार ८०० विद्यार्थीका लागि एलएलबी तहमा भर्ना खुला गरेको छ । इच्छुक विद्यार्थीहरूले चैत ३० गतेदेखि आवेदन दिन सक्नेछन् ।
विराटनगरमा त्रिविको यो पहलले कानुन शिक्षाको पहुँच विस्तार हुनुका साथै स्थानीय विद्यार्थीहरूलाई आफ्नै सहरमा गुणस्तरीय शिक्षा हासिल गर्ने अवसर मिल्ने विश्वास गरिएको छ । साथै, यसले प्रदेशस्तरमै दक्ष कानुन व्यवसायी उत्पादनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।