संगीत जगतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

0 Shares

भारतीय संगीत जगतकी चर्चित गायिका आशा भोसले को ९२ वर्षको उमेरमा निधन भएको छ। आइतबार दिउँसो ब्रीच क्यान्डी अस्पताल मा उपचारका क्रममा उनले अन्तिम सास फेरिन्। उनलाई शनिबार साँझ अस्पतालमा भर्ना गरिएको थियो, जहाँ हृदयघात र छातीसम्बन्धी समस्या देखिएको चिकित्सकहरूले बताएका थिए।

उनकी नातिनी जनाई भोसलेले सुरुवातमा थकान र छाती दुखाइ मात्र भएको जानकारी दिँदै स्वास्थ्य अवस्था चाँडै सुधार हुने बताएकी थिइन्, तर अवस्था गम्भीर बन्दै जाँदा उनको निधन भएको हो।

आशा भोसले ले आफ्नो लामो सांगीतिक यात्रामा बाह्र हजार भन्दा बढी गीतमा स्वर दिएकी थिइन्। उनका ‘दम मारो दम’, ‘पिया तू अब तो आजा’ र ‘चुरा लिया है तुमने’ जस्ता गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्।

संगीतमा उनको यात्रा संघर्षपूर्ण रह्यो। उनी प्रसिद्ध रंगमञ्च कलाकार तथा शास्त्रीय गायक दीनानाथ मंगेशकर की छोरी र चर्चित गायिका लता मंगेशकर की कान्छी बहिनी हुन्। बाबुको निधन उनी केवल नौ वर्षको हुँदा भएपछि परिवारको जिम्मेवारी सम्हाल्दै उनले दिदी लतासँगै गायन यात्रा सुरु गरेकी थिइन्।

१६ वर्षको उमेरमै उनले भागेर आफ्नी दिदी लताकी ३१ वर्षीय सचिव गणपतराव भोसलेसँग विवाह गरेकी थिइन्। परिवारको कडा असहमति रहेको यस विवाहपछि लामो समयसम्म उनको परिवारसँग सम्बन्ध टुटेको थियो।

सम्बन्धित समाचारसबै