नयाँ आर्थिक वर्षमा गृह र रक्षासहितका २० सचिवको अनिवार्य अवकाश पाउँदैछन् । (सूचीसहित)

0 Shares

काठमाडौँ । श्रावन ०१ गते
नयाँ आर्थिक वर्षमा निजामती सेवाको विशिष्ट श्रेणी (सचिव) पदबाट २० जना उच्च अधिकारीहरूले अनिवार्य अवकाश पाउने भएका छन्। राष्ट्रिय किताबखाना (निजामती) का अनुसार यो आर्थिक वर्षभित्र विभिन्न मन्त्रालय, आयोग र निकायमा कार्यरत २० जना सचिवहरू सेवाबाट बाहिरिन लागेका हुन्।

राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले यस आर्थिक वर्षमा २० सचिव अनिवार्य अवकाशमा जान लागेको पुष्टि गरे। निजामती सेवा ऐनअनुसार सचिवहरू दुई तरिकाले अनिवार्य अवकाशमा जान्छन्— सचिव पदको ५ वर्षे कार्यकाल पूरा गरेर वा ५८ वर्षे उमेरहदका कारण।

हाल सरकारसँग सचिवको कुल स्वीकृत दरबन्दी ७१ रहेकोमा हाल ५८ जना मात्र कार्यरत छन्। १३ वटा सचिवको पद पहिले नै रिक्त रहे पनि सरकारले नयाँ नियुक्तिको प्रक्रिया अघि बढाएको छैन। यस्तो अवस्थामा थप २० जना सचिवहरू एकपछि अर्को गर्दै अवकाशमा जाँदा प्रशासनिक नेतृत्वमा थप अभाव खड्किने देखिन्छ।

अवकाश पाउनेहरूमा प्रशासन, इन्जिनियरिङ, न्याय सेवा र सरकारी वकिल समूहका उच्च अधिकारीहरू छन्। किताबखानाको सूचीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मात्रै ३ जना सचिव अवकाश हुँदैछन्। जसमा साउन ४ गते किरणराज शर्मा, साउन ७ गते अतिरिक्त समूहका लोकनाथ पौडेल र साउन १९ गते अतिरिक्त समूहकै हरिप्रसाद मैनाली रहेका छन्।

त्यसैगरी गृह, रक्षा, भौतिक पूर्वाधार, पर्यटन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र शिक्षा मन्त्रालयका सचिवहरू पनि यसै वर्ष अवकाश हुने सूचीमा छन्।

अनिवार्य अवकाशमा जाने सचिवहरूको सूची र मिति:
१. किरणराज शर्मा – साउन ४ गते (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
२. लोकनाथ पौडेल – साउन ७ गते (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अतिरिक्त समूह)
३. हरिप्रसाद मैनाली – साउन १९ गते (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अतिरिक्त समूह)
४. डिल्लीराम शर्मा – भदौ ३ गते (अख्तियार दुरुपयोग अनुसन्धान आयोग)
५. बाबुराम अधिकारी – भदौ ४ गते (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश)
६. राजकुमार श्रेष्ठ – भदौ १६ गते (गृह मन्त्रालय)
७. गोपालप्रसाद सिग्देल – असोज १४ गते (पूर्वाधार विकास मन्त्रालय)
८. सुरजकुमार वैद्य – असोज १६ गते (जल तथा ऊर्जा आयोग)
९. सञ्जिवराज रेग्मी – असोज १८ गते (नायव महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय)
१०. वैकुण्ठबहादुर अधिकारी – असोज १८ गते (उपमहालेखा परीक्षक, महालेखा परीक्षकको कार्यालय)
११. रवि लाल पन्थ – असोज १९ गते (राष्ट्रिय योजना आयोग)
१२. कृषणबहादुर राउत – पुस २१ गते (महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय)
१३. रामेश्वर दंगाल – माघ १७ गते (लोकसेवा आयोग)
१४. मुकुन्दप्रसाद निरौला – फागुन ५ गते (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय)
१५. दिनानाथ मिश्र – चैत ३ गते (विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय)
१६. कृष्णप्रसाद काप्री – २०८४ वैशाख ६ गते (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश)
१७. लोकराज पराजुली – २०८४ जेठ ११ गते (नायब महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय)
१८. केदारनाथ शर्मा – २०८४ असार १ गते (रक्षा मन्त्रालय)
१९. राजेन्द्रकुमार पौडेल – २०८४ असार १५ गते (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश)
२०. इन्दिरा दाहाल भट्टराई – २०८४ असार २४ गते (नेपाल कानुन आयोग)

सम्बन्धित समाचारसबै