विराटनगरका लागि ऐतिहासिक फड्को: कोलकाताबाट सिधै गुड्यो पहिलो कार्गो रेल, ढुवानी लागत घट्ने ।

0 Shares

विराटनगर। नेपाल-भारत पारवहन सम्झौताअन्तर्गत पूर्वी नेपालको व्यापार तथा औद्योगिक क्षेत्रमा एउटा ऐतिहासिक अध्यायको सुरुवात भएको छ। भारतको कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकबाट आयात गरिएका मालसामान बोकेर पहिलोपटक कार्गो रेल सिधै विराटनगरका लागि प्रस्थान गरेको छ। यो व्यवस्था कार्यान्वयनमा आएसँगै पूर्वी नेपालका उद्योगी-व्यवसायीहरूमा नयाँ उत्साह थपिएको छ।

शुक्रबार कोलकाता बन्दरगाहबाट प्रस्थान गरेको यो पहिलो कार्गो रेलमा स्वस्तिक आयल इन्डस्ट्रिजका लागि आयात गरिएको कच्चा पदार्थ रहेको छ। उक्त रेल आइतबारसम्म विराटनगर आइपुग्ने अपेक्षा गरिएको छ। ढुवानी प्रक्रियालाई पूर्ण रूपमा सुरक्षित, पारदर्शी र निगरानीयोग्य बनाउन रेलमा रहेका सबै कन्टेनरहरूमा ‘इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम’ (ECTS) जडान गरिएको छ।

कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर) का उच्च अधिकारीहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर यस ऐतिहासिक कार्गो सेवाको शुभारम्भ गरेका थिए।

उद्योगी-व्यवसायीलाई समय र लागत दुवैमा ठुलो बचत विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार यो कार्गो रेल सेवा नियमित भएपछि उद्योगी-व्यवसायीहरूले आयात प्रक्रियामा समय र लागत दुवैमा ठुलो बचत गर्न सक्नेछन्। यो रेल सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि एकैपटक ४५ वटासम्म ४० फिट क्षमताका कन्टेनरहरू सिधै विराटनगर भन्सारसम्म ल्याउन सकिनेछ।

यसअघि यस्तो रेलमार्फत सिधै सामान ल्याउने सुविधा वीरगञ्ज नाकामा मात्र सीमित थियो। अब विराटनगरसम्म यो सेवा विस्तार भएपछि सडकमार्गमा रहेको अत्यधिक निर्भरता हट्नेछ। यसबाट ढुवानी खर्च कम हुने, बन्दरगाहमा हुने ढिलाइ (डिटेन्सन तथा डेमरेज शुल्क) घट्ने र सामान निकै छिटो गन्तव्यमा पुग्ने विश्वास गरिएको छ।

कार्गो रेल सेवाको नियमित सञ्चालनले पूर्वी नेपालको औद्योगिक उत्पादन, आयात–निर्यात तथा समग्र आर्थिक र व्यापारिक गतिविधिमा दीर्घकालीन र सकारात्मक प्रभाव पार्ने सुनिश्चित देखिएको छ।

सम्बन्धित समाचारसबै