रूपन्देही । शुक्रबारदेखि बेपत्ता हुनुभएका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर एवं नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला पर्नुभएको छ।
साढे तीन बजेतिर आफू निकटका व्यक्तिहरूलाई फोन गरेर ‘जङ्गलमा बाटो बिर्सिएँ’ भनेका ६५ वर्षीय सिंह त्यसपछि सम्पर्कविहीन हुनुभएको थियो। खोजीका क्रममा पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जङ्गल क्षेत्रमा उहाँले प्रयोग गर्ने लु. प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिएको अवस्थामा फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त सूचना अधिकारी दीपक कुँवरका अनुसार दुई दिनदेखि भइरहेको सघन खोजीका क्रममा आज उहाँको शव जङ्गलमै मृत अवस्थामा भेटिएको हो।उहाँको खोजीका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको केनाइन शाखाबाट तालिमप्राप्त कुकुर (ट्र्याकिङ डग) र प्राविधिक टोली झिकाइएको थियो। साथै, ड्रोनमार्फत निगरानी गर्नुका साथै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी र स्थानीयवासी परिचालन गरिएका थिए।प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित आफ्नै घरबाट निस्किनुभएका सिंह त्यसपछि बेपत्ता हुनुभएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।