काठमाडौँ । आवासीय र इन्टर्न चिकित्सकहरूले आजदेखि धर्ना सुरु गरेका छन् । देशभरका मेडिकल कलेजहरूमा आवासीय र इन्टर्न चिकित्सकहरूले धर्ना दिएका हुन् ।
आवासीय र इन्टर्न चिकित्सकहरूको नियमित पारिश्रमिक रोकेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा व्याप्त विकृति, अनियमितता विरुद्ध ‘चिकित्सा शिक्षा सङ्घर्ष अभियान’ले हिजो बुधवारदेखि देशव्यापी चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
पहिलो चरणमा पिजि र इन्टर्न चिकित्सकले हिजो बुधबार पेनडाउन गरेका थिए । कलेज सञ्चालकहरूले चिकित्सक र स्वास्थ्यकर्मीलाई आन्दोलनमा उत्रिन बाध्य पारी राज्यमाथि गैरकानुनी र अवैज्ञानिक दबाब सिर्जना गर्न खोजेको अभियानको निष्कर्ष छ।
अभियानका संयोजक मनिष भट्टराई, प्रवक्ता धनबहादुर तामाङ र महासचिव सौगात पाण्डेले हस्ताक्षर गरेको विज्ञप्तिमा देशभरका आवासीय तथा इन्टर्न चिकित्सक, मेडिकल अफिसर, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूलाई आन्दोलनमा सक्रिय सहभागिताका लागि अपिल गरिएको छ।
अभियानका अनुसार अर्बौँको कारोबार गर्ने निजी मेडिकल कलेजहरूले नाफामा हुँदाहुँदै पनि घाटाको अपारदर्शी विवरण देखाउने गरेका छन्। एक वर्षे अनिवार्य सेवाका नाममा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरू अत्यन्त न्यून पारिश्रमिकमा काम गर्न बाध्य भई अस्पतालभित्रै चरम श्रम शोषणको चपेटामा परेको बताएका छन्।