भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको ९० वर्षको उमेरमा क्यानाडाको क्यालगरीमा निधन भएको छ। लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित धौभडेलको उपचार सम्भव नभएपछि छोरी निशाको घरमा राखिएको अवस्थामा निधन भएको उनका ज्वाइँ ज्योति वैद्यले जानकारी दिएका छन्।
भक्तपुर पुर्ख्यौली घर भई सिराहामा जन्मिएका प्रा. धौभडेललाई २०५१ माघ १८ गते तत्कालीन नेकपा एमालेको सरकारले भारतका लागि नेपाली राजदूत नियुक्त गरेको थियो। आफ्नो कार्यकालमा उनले नेपाल-भारत द्विपक्षीय सम्बन्धलाई सुदृढ र विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
अमेरिकाको ओरेगन विश्वविद्यालयबाट शिक्षा विषयमा स्नातकोत्तर गर्नुभएका धौभडेलका चार छोरीहरू (तीन जना क्यानाडा र एक जना अमेरिका) रहेका छन्।
नेपालको कूटनीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुभएका दिवंगत प्रा. हर्षनारायण धौभडेलप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना!