मकवानपुर । भीमफेदी–६, जुरिखेलमा मंगलबार बिहान उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश सवार गाडी दुर्घटना हुँदा घाइते भएका न्यायाधीश गोकर्ण डाँगीसहित तीन जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरूलाई काठमाडौँ ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा परेका गाडी चालक तथा उच्च अदालत वीरगन्जका रजिष्ट्रार तारादत्त बडुलाई भने थप उपचारका लागि हेटौँडा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए।
काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको थियो। दुर्घटनामा दाङ तुलसीपुर–९ का ५७ वर्षीय न्यायाधीश डाँगी, चालक दाङ राप्ती–८ का ३२ वर्षीय छुनिलाल चौधरी, बैतडी दशरथचन्द–७ का ५१ वर्षीय रजिष्ट्रार बडु, उनकी ४९ वर्षीया श्रीमती लक्ष्मी बडु, २५ वर्षीय छोरा रितेन्द्र बडु र ३१ वर्षीया दिदी रिता बडु घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ।