कोशी राजनीतिमा नयाँ तरङ्ग | मुख्यमन्त्री कार्कीले भदौ ५ गते विश्वासको मत लिने ||

0 Shares

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी भदौ ५ गते शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

सत्ता गठबन्धनको हेरफेर र नयाँ दलको सरकार प्रवेशसँगै मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिन लागेका हुन्। नेकपा एमालेका सांसद रेवतिरमण भण्डारीका अनुसार सत्ता साझेदार परिवर्तन भएकाले नैतिक दायित्वका आधारमा मुख्यमन्त्रीले संसद्को सामना गर्न लागेका हुन्। सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहणलगत्तै मुख्यमन्त्री कार्की स्वयंले पनि चाँडै विश्वासको मत लिने घोषणा गरेका थिए।

कांग्रेसको भूमिका र सत्ता समीकरणको स्थिति

सरकारमा सहभागी रहेको नेपाली कांग्रेसले भने अहिलेसम्म आफ्नो समर्थन औपचारिक रूपमा फिर्ता लिएको छैन। यस विषयमा आधिकारिक निर्णय लिन बुधबार कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ।कांग्रेस संसदीय दलका नेता उद्धव थापाका अनुसार मुख्यमन्त्रीले विश्वासको मतका लागि आग्रह गरिसकेका छन्। विगतमा संघमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गरेर पनि कांग्रेस प्रमुख प्रतिपक्षी दल बनेको नजिर रहेकाले कोशीमा पनि त्यस्तै स्थिति बन्न सक्ने थापाको भनाइ छ। यद्यपि, दलका उपनेता हिमाल कार्कीले भने बुधबारको बैठकले सरकारबाट समर्थन फिर्ता लिने सम्भावना प्रबल रहेको बताएका छन्। अर्कोतर्फ, सत्ता साझेदार दल नेकपाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीको विश्वासको मत र भावी रणनीतिबारे दलभित्र छलफल भइरहेको जानकारी दिएका छन्।

समीकरण परिवर्तनको पृष्ठभूमि

संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका कार्कीले साउन ९ गते एमाले र नेकपाबीच नयाँ गठबन्धनको सहमति गरेपछि प्रदेश राजनीतिले नयाँ मोड लिएको हो। सोही सहमति बमोजिम सोमबार नेकपाका तर्फबाट नयाँ मन्त्रीहरू सरकारमा सहभागी भइसकेका छन्।

सम्बन्धित समाचारसबै