बागमती प्रदेशमा नेकपा र नेकपा (एमाले) गठबन्धनको सरकारलाई समर्थन गर्ने विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद चर्किएको छ। पार्टी केन्द्र र प्रदेश संसदीय दलको सचिवालयले सरकारलाई दिएको समर्थन आधिकारिक नभएको दाबी गरिरहँदा, राप्रपाका तीन सांसद भने पार्टी निर्देशन लत्याएर आजै मन्त्रीको शपथ लिने अन्तिम तयारीमा जुटेका छन्।
एमाले नेता किरण थापा नेतृत्वको सरकारमा राप्रपा संसदीय दलका उपनेता गिरबहादुर तामाङ (ज्ञानुजंग लामा) को नेतृत्वमा पार्टी सरकारमा सहभागी हुन लागेको हो। उपनेता लामाका अनुसार उनीसहित राजु विष्ट र राजेन्द्र प्रजापतिले आजै मन्त्री पदको शपथ लिँदैछन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ मन्त्रालय रहेको बागमतीमा सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट समेत टुंगिएको छ। सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित तीन, नेकपाले दुई र राप्रपाले तीन मन्त्रालय पाउने भएका छन्। जसअन्तर्गत राप्रपाबाट गिरबहादुर तामाङ (ज्ञानुजंग लामा) ले स्वास्थ्य तथा सामाजिक विकास, राजु विष्टले खानेपानी, ऊर्जा तथा सिँचाइ र राजेन्द्र प्रजापतिले उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तयारी छ।
पार्टीभित्र देखिएको असन्तुष्टिलाई अस्वीकार गर्दै उपनेता तामाङले संविधान, पार्टीको विधान र संसदीय अधिकारको पूर्ण पालना गरेरै सरकारमा जाने निर्णय गरिएको दाबी गरेका छन्।
यता, मुख्यमन्त्रीमा थापाले दाबी पेस गरेदेखि नै राप्रपाभित्र सुरु भएको विवाद थप गहिरिएको छ। राप्रपा केन्द्रीय कार्यालय र संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले प्रदेश प्रमुखको कार्यालयलाई पत्राचार गर्दै संसदीय दलले दिएको समर्थन खारेज गर्न माग गरिसकेका छन्। केन्द्रको रोक र ह्वीपका बाबजुद सांसदहरू मन्त्री बन्ने अडानमा रहेपछि बागमती राप्रपामा कारबाही र विभाजनको जोखिम बढेको छ।