दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) अन्तर्गत नेपालसहित चार मुलुकका भन्सार प्रशासनबीच मालवस्तुको पूर्वआगमन सूचना आदानप्रदान गर्ने समझदारी भएको छ।
नेपाल, भुटान, बंगलादेश र माल्दिभ्सका भन्सार प्रशासनबीच व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो सम्झौता गरिएको भन्सार विभागले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।माल्दिभ्समा आयोजित एसएएसईसीको १४औँ ‘कस्टम सबग्रुप मिटिङ’मा ४ देशका भन्सार प्रशासनका प्रतिनिधिले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक यमलाल भुसालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
व्यापारिक साझेदार मुलुकबीच निकासी गरिने वस्तुको अग्रिम तथ्यांक आदान–प्रदान गरी जोखिम व्यवस्थापनमार्फत व्यापार सहजीकरण गर्ने अभ्यास अन्तर्राष्ट्रियस्तरमा छ। नेपाल, भुटान, बंगलादेश र माल्दिभ्सबीच भएको पछिल्लो समझदारीले पनि यही अभ्यासलाई क्षेत्रीयस्तरमा विस्तार गर्नेछ।मालवस्तु भन्सार कार्यालयमा आइपुग्नुअघि नै त्यससम्बन्धी सूचना सदस्य राष्ट्रहरूलाई उपलब्ध हुने भएकाले जोखिम विश्लेषण तथा व्यवस्थापन गर्न सहज हुनेछ।
विज्ञप्तिमा भनिएको छ, ‘यसबाट मालवस्तु भन्सार कार्यालयमा आइपुग्नु अघि नै उपलब्ध सूचनाको विश्लेषण गरी जोखिम व्यवस्थापन गर्न, भन्सारको नियन्त्रणलाई थप प्रभावकारी बनाउन तथा छिटो र सहज रूपमा वस्तु जाँचपास गर्न सहयोग पुग्नेछ।’पूर्वआगमन सूचना आदान–प्रदानबाट व्यापारिक प्रक्रियामा लाग्ने समय तथा लागत घट्नुका साथै वैदेशिक व्यापारलाई थप सहज, पारदर्शी र पूर्वानुमानयोग्य बनाउन सहयोग पुग्ने विभागको अपेक्षा छ।
नेपालले यसअघि भारतसँग पनि यस्तै प्रकृतिको समझदारी गरिसकेको छ। गत माघको पहिलो साता भारतको नयाँदिल्लीमा नेपालका भन्सार विभाग र भारतीय केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डबीच पूर्वआगमन सूचना आदान–प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो।नेपाल र भारतबीच भएको समझदारीले दुवै देशका भन्सार प्रशासनबीचको सम्बन्ध थप बलियो बनाउने तथा निकासी हुने वस्तुको आगमनपूर्व तथ्यांक आदान–प्रदानमार्फत जोखिम विश्लेषण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको थियो।आगमनपूर्वको तथ्यांकका आधारमा जोखिम देखिएका वस्तुलाई निगरानी तथा नियमन गर्न सहज हुने र सही कारोबार गर्ने व्यवसायीलाई थप सहजीकरण गरी भन्सार जाँचपास छिटो, छरितो र सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।