विराटनगर–८ स्थित अशोक चोकमा रहेको पिपलको रुखलाई लिएर पछिल्लो समय उत्पन्न धार्मिक विवादका बीच वडा कार्यालयले पिपलको बोटको संरक्षण र सरसफाइको कामलाई तीव्र रूपमा अघि बढाएको छ। सामाजिक सद्भाव कायम राख्न र प्राकृतिक सम्पदाको जगेर्ना गर्न वडाध्यक्ष राम पोखरेलको प्रत्यक्ष पहलमा पिपलको रुखको संरक्षण तथा आसपासको क्षेत्रलाई व्यवस्थित बनाउने कार्य थालिएको हो।
पिपलको बोटको दीर्घकालीन संरक्षणका लागि त्यस वरिपरि मजबुत घेराबारा (फेन्सिङ) गरिएको छ भने आसपासमा उम्रिएका झाडीहरू हटाएर सरसफाइ गरिएको छ। धार्मिक विवादका कारण समुदायमा हुनसक्ने सम्भावित असमझदारीलाई अन्त्य गर्दै पिपलको रुखलाई संरक्षण गर्नु वडा कार्यालयको मुख्य प्राथमिकता रहेको जनाइएको छ।
यसअघि पनि उक्त पिपलको रुख रहेको स्थानमा दुवै समुदायका अगुवा तथा युवाहरूले एकै ठाउँमा भेला भएर विभिन्न प्रजातिका बिरुवाहरू रोपेका थिए। रुखले कुनै धर्म वा समुदायका आधारमा भेदभाव नगरी सबैलाई समान रूपमा अक्सिजन र छायाँ दिने भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको वडाध्यक्ष पोखरेलले बताउनुभयो।
सामाजिक सञ्जालमा फैलाइएका नकारात्मक अफवाहको पछि नलाग्न आग्रह गर्दै वडाध्यक्ष पोखरेलले सार्वजनिक पदमा रहेका कारण आफूले सबै धर्म, आस्था र प्राकृतिक सम्पदाको समान रूपमा सम्मान र संरक्षण गर्ने स्पष्ट पार्नुभयो।
वडा कार्यालयले पिपलको रुखको संरक्षणसँगै उक्त क्षेत्रलाई आगामी दिनमा थप स्तरोन्नति गर्ने योजना बनाएको छ। पिपलको बोट आसपासको खुला क्षेत्रलाई स्थानीयवासीको स्वास्थ्य र सुविधाका लागि व्यवस्थित खुला व्यायामशाला (ओपन जिम) का रूपमा विकास गर्ने तयारी अघि बढाइएको वडा कार्यालयले जनाएको छ।
