विराटनगर १७ भदौ । सिर्जनशील सोच र कलात्मक प्रतिभालाई प्रतिस्पर्धामार्फत प्रस्तुत गर्दै विराटनगर–१० स्थित ओडिसी सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीले ‘कृष्ण मेरो कल्पनामा’ चित्रकला प्रतियोगितामा उल्लेखनीय सफलता हात पारेका छन् ।
प्याब्सन विराटनगरको आयोजनामा सम्पन्न प्रतियोगितामा ओडिसीकी सृष्टि यादवले कक्षा ४–७ तर्फ प्रथम स्थान हासिल गरेकी छन् । यस्तै, कक्षा १–३ तर्फ काइनात कैयम खानले तृतीय स्थान प्राप्त गरेकी छन् ।
प्रतियोगितामा विराटनगरका विभिन्न विद्यालयबाट १०९ जना विद्यार्थी सहभागी थिए । ठूलो संख्यामा विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा ओडिसीका दुई विद्यार्थीले उत्कृष्ट स्थान हासिल गर्नु विद्यालयका लागि गौरवको विषय बनेको छ । विद्यार्थीको सफलताले विद्यालयमा कला, सिर्जनशीलता र अतिरिक्त क्रियाकलापलाई दिइँदै आएको प्राथमिकतालाई समेत प्रतिबिम्बित गरेको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल निरज दासले विद्यार्थीभित्र लुकेको प्रतिभालाई उजागर गर्न नियमित रूपमा विभिन्न सिर्जनात्मक तथा अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै आएको बताए । ‘विद्यार्थीको प्रतिभा केवल कक्षाकोठाभित्र सीमित हुँदैन, त्यसलाई प्रस्तुत गर्ने उचित अवसर आवश्यक हुन्छ,’ उनले भने, ‘प्रतियोगितामा प्राप्त यो सफलताले विद्यार्थीलाई आगामी दिनमा अझ राम्रो गर्न प्रेरणा मिलेको छ ।’
ओडिसी स्कुल परिवारले प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सृष्टि यादव र तृतीय स्थान प्राप्त गर्ने काइनात कैयम खानलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ । विद्यालयले आगामी दिनमा पनि विद्यार्थीको प्रतिभा प्रस्फुटन र सिर्जनात्मक क्षमताको विकासका लागि यस्ता गतिविधिलाई निरन्तरता दिने जनाएको छ ।