विराटनगर — भोटेकोशी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि विराटनगरमा कला र सामाजिक सेवाको संयोजन गरिएको छ। नाटक ‘सिफारिस’ मञ्चन गरेर बाढीपीडितका लागि राहत संकलन अभियान सुरु गरिएको हो।
आरोहण गुरुकुल विराटनगरमा साहित्यकार धिरज राईको कथामा आधारित उक्त नाटक भदौ २१ देखि २४ गतेसम्म हरेक साँझ ५ बजे मञ्चन हुनेछ। नाटकबाट संकलन हुने सम्पूर्ण रकम नेपाल सरकारको आधिकारिक विपद् उद्धार तथा राहत कोषमा जम्मा गरिने कार्यक्रम संयोजक देवेन्द्र यादव ‘आरोग्य’ले बताए।
मृत्यु दर्तासँग जोडिएको संवेदनशील कथावस्तुमा आधारित नाटकले मधेसी समाजको परिवेश, महिला हिंसा, दाइजो प्रथा तथा सामाजिक विकृतिलाई मञ्चमा प्रस्तुत गरेको छ।
नाटकका लागि ३००, ५०० र एक हजार रुपैयाँका टिकट निर्धारण गरिएको छ भने विद्यार्थीलाई विशेष सहुलियत दिइने आयोजकले जनाएको छ।
भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै राहत अभियान सञ्चालन गरिएको आयोजकको भनाइ छ। टोलीले बाढीमा बेपत्ता भएकाको खोजीलाई थप प्रभावकारी बनाउन र उनीहरूको अवस्थाबारे शीघ्र जानकारी सार्वजनिक गर्न सरकारसँग समेत माग गरेको छ।