विराटनगर । गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको गाडीको स्टिकर उप्काएर प्रमाण मेटाउने प्रयास गरेको आरोपमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति रोहित यादव पक्राउ परेका छन्।
प्रहरीका अनुसार अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको को १ च ६६२० नम्बरको मारुती भ्यानबाट यादवले ‘दिव्य ज्योती अस्पताल प्रालि’ लेखिएको स्टिकर उप्काउन खोजेका थिए।
उक्त गाडीबाट प्रहरीले यसअघि ५० किलो २९० ग्राम गाँजा बरामद गरेको थियो। गाँजा तस्करीमा प्रयोग भएको भनिएको गाडीमा अस्पतालको स्टिकर प्रयोग गरी सुरक्षाकर्मीलाई झुक्याउने प्रयास भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
यादवले प्रहरी कार्यालयको परिसरभित्र अनधिकृत रूपमा प्रवेश गरी अनुसन्धानसँग सम्बन्धित प्रमाण नष्ट गर्न खोजेको दाबी प्रहरीले गरेको छ। स्टिकर उप्काउँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको हो।
विराटनगर महानगरपालिका–१४ निवासी यादवलाई भदौ २२ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। अदालतबाट सात दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।